Fast Nepal News

आन्दोलनमा पेट्रोलियम व्यवसायी

banner single news

पोखरा — ०९ चैत्र २०७८

पोखरा , राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन नेपाल, एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन्  इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल आयल निगमलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले चैत २० गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मुल्यवृद्धि पछिको पेट्रोलियम पदार्थको कारोबारमा रोकिएको कमिसन उपलब्ध गराउनुपर्ने लगायत माग व्यवसायीको छ । प्राविधिक नोक्सानी सम्बन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागु गर्नसमेत व्यवसायीले माग गरेका छन् ।

एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्यधिक वृद्धि भए पनि हालसम्म भाडा समायोजन नभएको व्यवसायीको गुनासो छ । भाडादर समायोजन गर्न र डिजेलको मूल्य वद्धि हुँदा भाडा बढ्ने, घट्दा स्वतः घट्ने स्वचालित ढुवानी भाडा व्यवस्था कायम गर्न समेत व्यवसायीको माग छ । पेट्रोलियम ऐन बनाइ लागु गर्नुपर्ने, निगमको एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली संशोधन गर्नुपर्ने र त्यसमा व्यवसायीको प्रतिनिधि राखिनुपर्ने पनि उनीहरूको माग छ । यस्तै पेट्रोलियमको कारोबार, आयल निगमको सुधार र भविष्यमा गर्नुपर्ने कार्य लगायतमा व्यवसायीसहित विज्ञ टोली समावेश गरी अध्ययन गराई सरोकार निकायलाई कार्यान्वयनका लागि सिफारिस गर्नुपर्ने उनीहरूको माग छ ।

Inside Article Ads

गण्डकी प्रदेशमा पेट्रोलियम डिलर्स एसोसिएसन गण्डकी धौलागिरिका अध्यक्ष राजन गोंगजुको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिको सहसंयोजकमा गण्डकी ट्यांकर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली र एलपी ग्यास उद्योगका प्रतिनिधि मेघराज पौडेल रहेका छन् । संघर्ष समितिले चैत १५ सम्म स्थानीय स्तरमा तीनवटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता र सरोकारवालासँग अन्तरक्रिया गर्ने, एलपी ग्यास उद्योगले नेपाल आयल निगमबाट पीडीओ एल ग्यास लोड बन्द गर्ने, एलपी ग्यास लोड भएका गाडी भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम तय गरेका छन् । चैत १६ देखि पेट्रोलियम पदार्थको ढुवानी ट्यांकरले पीडीओ नलिने, १७ गतेदेखि एलपी ग्यास उद्योगबाट विक्रेतालाई ग्यास बिक्री नगर्ने, चैत १८ देखि पेट्रोलियम पदार्थको लोड-अनलोड बन्द गर्ने र २० गतेदेखि देशभर ग्यास विक्री बन्द गर्ने गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका संयोजक राजन गोंगजुले जानकारी दिए ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.