Fast Nepal News

फागुनमै चैतेधान

banner single news

चितवन — २२ फागुन २०७८

चैतयता धान रोप्ने चलन खासै थिएन । तर पूर्वी चितवनमा यस वर्ष फागुन सकिन १० दिन बाँकी रहँदै चैते धान रोपाइँ सुरु भएको छ । कृषि वैज्ञानिकको सल्लाह, प्राविधिकको हेरचाह र धान रोप्न मेसिन भएका कारण किसानले अगावै खेत रोपेका हुन् । धान चाँडै रोप्दा धेरै फल्ने र राम्रो मूल्य आउने र मनसुन सुरु हुनुभन्दा अगावै काटेर स्याहार्न पाउने किसानको आशा छ । रत्ननगर नगरपालिका–६ बछौलीका सत्यनारायण चौधरीको खेतमा शुक्रबार मध्याह्न बेग्लै चहलपहल थियो । घामको ताम हल्का बढेको थियो । १० कट्ठाको एउटै गरो हिलाएर ट्र्याक्टर खेतबाट निस्केपछि एउटा चारपाङ्ग्रे मेसिन हिलो खेतमा गयो । सत्यनारायणले त्यो मेसिनको पछिल्लो भागमा धानको बीउ (बिरुवा) राख्न थाले । त्यो बीउ विशेष तरिकाले ‘ट्रे’ मा उमारेर, हुर्काएर रोप्न तयार गरिएको थियो ।

‘धान रोप्न मेसिन प्रयोग गर्ने निधो गरेपछि बीउ पनि फरक तरिकाले नै राख्नुपर्छ । यस वर्ष त अझ चाँडै रोप्ने भएपछि विशेष रेखदेख र स्याहर गरेर बीउ तयार गरियो,’ मेसिनले हिलोमा धान रोप्न सुरु गरेपछि फुर्सदिलो भएको सत्यनारायणले सुनाए । गाउँमा गत वर्ष धान रोप्ने चारपाङ्ग्रे मेसिन भित्रिएको हो । अघिल्लो वर्ष बर्खेधान उनले यसैगरी मेसिनले रोपेका थिए । बछौलीका रैथाने बासिन्दा सत्यनारायणका बाबुबाजेले नै चैते धान रोप्दै आएका थिए । तर उनले मेसिनले चैते धान रोपेको यो पहिलो पटक हो । त्यसमाथि फागुनमै रोपिएको छ चैते धान । उनले रोपेको चैते धानको नाम हो ‘चैते–५’ । प्राविधिक भन्छन्, ‘यो धान राम्रो फल्छ, बिक्री पनि राम्रो छ, मूल्य पनि छ । तर पाक्न दुई/चार दिन बढी समय लाग्छ ।’ चैते–५ को धान मात्र होइन, परालसमेत राम्रो छ । ‘तर अलि ढिलो पाक्दा धान पराल दुवै भिजेर हामीलाई मर्का पर्छ,’ खैरहनी नगरपालिका–१३ कुमरोजका किसान सूर्यबहादुर बोगटीले भने ।

Inside Article Ads

गत वर्ष नै उनले चैते धान एक बिघा र बर्खे धान पनि एक बिघा नै मेसिनले रोपेका थिए । चैते–५ को धान–पराल दुवै सुरक्षित रुपमा स्याहार्न बोगटीले यस पटक फाुगन २५ मै धान रोप्ने तयारी गरिरहेका छन् । जेठ अन्तिममै स्याहार्नका लागि चाँडै धान रोप्न लागिएको उनले बताए । मेसिनले धान रोप्दा किसानलाई खर्च पनि लगभग आधा जोगिने उनको भनाइ छ । धानबाली विज्ञ कृषि वैज्ञानिक रामवरण यादवले चैते धानको बीउ माघ १५ पछि राख्दा पनि उब्जनी लिन सकिने अनुसन्धानले पुष्टि गरेको किसानलाई जानकारी गराएका थिए । जसका कारण चितवनका केही किसान फागुनको साटो माघमै बीउ राख्न तयार भएका हुन् । उनीहरूले तापको मात्रा मिलाउन टनेल बनाएर बीउ राखेका थिए । सोचे जस्तो राम्ररी नहुर्के पनि रोपाइँ गर्ने अवस्थामा पुगेको किसान बोगटीले बताए ।     

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.