
काठमाडौँ — ११ फागुन २०७८
काठमाडौँ , गएको एक महिनामा विकास ऋणपत्रमार्फत मात्र सरकारले ५४ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । ती ऋणपत्रका लागि २ खर्ब ६८ अर्ब २७ करोड रुपैयाँ बराबरको बोलकबोल प्राप्त भएको थियो । ती ऋणपत्र २ देखि ५ वर्ष सम्मका छन् । ऋणपत्रको ब्याजदर न्यूनतम ५.७२ देखि अधिकतम ६.९३ प्रतिशत छ । आन्तरिक ऋण उठाउने क्रममा सोमबार राष्ट्र बैंकले बिक्री गरेको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले करिब ५१ अर्ब रुपैयाँ बराबरको बोलकबोल हालेका छन् । यो आह्वान गरिएकोभन्दा करिब ५ गुणा बढी हो । राष्ट्र बैंकले पाँचवर्षे ‘विकास ऋणपत्र २०८३’ (च) का लागि आइतबारसम्म बोलकबोल आह्वान गरेको थियो, जसमा २ सय २५ वटा आवेदनमार्फत ५० अर्ब ७५ करोड रुपैयाँ बराबरको बोलकबोल परेको छ ।
सोमबार राष्ट्र बैंकले उक्त ऋणपत्र बिक्री गरेको छ । यसअनुसार ३६ वटा बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र खरिद गरेका छन् । पाँच वर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ६.९३ प्रतिशत कायम भएको छ । वित्तीय प्रणालीमा तरलता अभावको अवस्थामा सुधार भएको छैन । तर बैंक तथा वित्तीय संस्थाले ऋणपत्रहरूमा लगानी गर्न भने तँछाडमछाड गरेको देखिन्छ । उनीहरूसँग धेरै पैसा भएर ऋणपत्रमा लगानी गरेका भने होइनन् । ऋणपत्रमा गरेको लगानीबाट धेरै फाइदा लिन सकिने भएपछि उनीहरूको आकर्षण ऋणपत्रमा देखिएको छ । ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लिन सक्छन् ।
आवश्यक परेका बेला दोस्रो बजारमा बिक्री गर्न सकिने, ऋणपत्र धितो राखेर कर्जा लिन सकिनेलगायत कारण बैंक तथा वित्तीय संस्थाले ऋणपत्रमा लगानी बढाएको जानकारहरूको तर्क छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्र (आउँदो चैत मसान्तसम्म) सरकारले १ खर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै छ । आर्थिक वर्षको चौथो त्रैमासमा ट्रेजरी बिल्समार्फत ५५ अर्ब, विकास ऋणपत्रमार्फत ७५ अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब र वैदेशिक रोजगारी बचतपत्रमार्फत ५० करोड रुपैयाँ गरी १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ (वार्षिक लक्ष्यको ५५.४ प्रतिशत) आन्तरिक ऋण उठाउने तालिकामा उल्लेख छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।
( कान्तिपुर दैनिक )
