
काठमाडौँ — १० फागुन २०७८
काठमाडौँ , पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए । कडरियाले राज्यले किसानलाई दिएको बिमा सुविधा सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए । उनले असिनाका कारण ती वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए ।
उनकाअनुसार असिना परेको दोस्रो दिनसम्म पनि सम्पूर्ण रुपमा पग्लिएको छैन । असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भौसी मरेका छन् । फार्मको टिनमा असिनाको भार पर्दा सो भााचिएर थिचिँदा भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फार्ममा २० लाख बराबरको क्षति भएको छ । उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ ।
उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भई २० लाख बराबरको क्षति पुगेको बताए । यसैगरी पोखरा ११ का किसान मोतीराम भट्टराईको तराकारी खेतीमा ठूलो क्षति भएको छ । सरकारले राहत दिएर किसानलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए । उनले किसानको राहतमा आफूले पहल गरेको समेत बताए ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गत फागुन ८ गते आइतबार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।
( कान्तिपुर दैनिक )
