Fast Nepal News

रेलको पहिलो ‘ड्राई रन’ सफल

banner single news

धनुषा — ०२ फागुन २०७८

धनुषा , फागुन दोस्रो सातासम्म जयनगर–कुर्था रेल सेवा उद्घाटन गर्ने लक्ष्यसहित आइतबारबाट रेलको ‘ड्राई रन’ थालिएको छ । रेल सेवा सुरु गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कता, भौतिक संरचनाको अवस्था र कर्मचारीलाई जिम्मेवारी बोध गराउन बिनायात्रु रेलको परीक्षण थालिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । नियमित सेवा आरम्भअघि लिकमा रेल गुडाएर गरिएको पहिलो दिनको परीक्षण यात्रा सफल भएको उनको भनाइ छ । रेल धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वाबाट कुर्था हुँदै जयनगर पुगेको थियो । त्यहाँ केही समयको विश्रामपछि पुनः इनर्वामा ल्याई पार्किङ गरिएको छ । आइतबारको ड्राई रनमा यात्रु नराखिए पनि जनप्रतिनिधि, रेल्वेका कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मी भने सवार थिए । भारतबाट दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको १७ महिनापछि बल्ल रेलको ड्राई रन गरिएको हो । २०७७ असोज २ मा भारतबाट ८६ करोडमा खरिद गरी रेल नेपाल ल्याइएको थियो ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन नगरेसम्म प्रत्येक दिन एक पटक यात्रुबिनै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले जानकारी दिए । अब कुनै पनि बहानामा रेल सेवा उद्घाटन नरोकिने उनले दाबी गरे । रेल्वे लिकको अवस्था बुझ्न, हल्ट र स्टेसनमा रोक्ने समय व्यवस्थापन सम्बन्धमा निर्णय गर्न प्रतिघण्टा ४० किलोमिटरको गतिमा रेल जयनगरदेखि कुर्थासम्म गुडाइएको रेल सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको भारतीय रेल्वे कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेडका डीजीएम विनायक हुसैनले बताए । ‘ड्राई रनका क्रममा धेरै स्थानमा रेल रोक्नुपरेको थियो,’ उनले भने, ‘रेलबाट दुर्घटना र क्षति हुन नदिन स्थानीयलाई सजग गराउन यात्रुबिनै न्यून गतिमा रेल गुडायौं । लिक आसपासमा कृषि कर्मका लागि पशुचौपाया आवतजावत भइरहेको पायौं । लिकमा चौपाया आउन नदिन सर्वसाधारणलाई सचेत गराउने काम पनि भइरहेको छ ।’

रेल सेवा सञ्चालन गर्न विगतमा पटक–पटक मिति तोकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । तर फागुन दोस्रो सातासम्म रेल सेवा थालनी गर्ने तयारी स्वरूप ड्राई रन सुरु गरिएको उनको भनाइ छ । ‘रेल सञ्चालनमा आउने सन्देश सर्वसाधारणमा दिन, रेल्वे लिक आसपासमा लगाइएको हाट बजार खाली गराउन र दैनिक लागत पत्ता लगाउन ड्राई रनबाट सहयोग पुग्छ,’ उनले भने । रेल सञ्चालनका लागि नेपाल सरकारले १ सय ८६ जना कर्मचारी भर्ना गर्ने निर्णय गरे पनि हाल ५९ नेपाली र २६ भारतीय कर्मचारी मात्रै खटाइएको छ । ‘सरकारले निर्णय गरेअनुसार कर्मचारी भर्ना गर्दा पाल्न सक्ने अवस्था छैन । त्यसैले हाललाई न्यूनतम कर्मचारी मात्रै भर्ना गरिएको छ,’ उनले भने, ‘२६ भारतीय कर्मचारीमध्ये १४ जना आइसकेका छन् । १२ जना उद्घाटनपछि आउनेछन् ।’ नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल उद्घाटनको मिति तोक्न दुवै मुलुकका उच्च अधिकारीबीच छलफल भइरहेको पनि उनले बताए ।

Inside Article Ads

रेलको एसी र जनरल गरी २ बोग्गीमा १ हजार ३ सय ५० यात्रु बोक्ने क्षमता छ । अहिले दिनमा कति पटक रेल सञ्चालन गर्ने विषयमा पनि दुवै मुलुकका अधिकारीबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘यात्रुको चापअनुसार दैनिक रेल सेवा सञ्चालन हुनेछ,’ उनले भने, ‘एक दशकपछि रेल चल्न लागेको हो । यात्रु रेल चढ्छन् कि चढ्दैनन् । पहिले रेल सञ्चालन भएको सन्देश दिन चाहेका छौं ।’ सामान्यतया दिनमा २ पटक रेल चलाउने तयारी भए पनि यात्रुको चापअनुसार सेवा थप हुने उनले स्पष्ट पारे । भारतीय कम्पनीले तयार गरेको रेलको भौतिक संरचनामा रहेको त्रुटि र बाँकी रहेको प्राविधिक काम पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि ढिलाइ भइरहेको उनले गुनासो गरे । उनका अनुसार रेल सेवा सुरक्षाका लागि १ सय सशस्त्र प्रहरी खटाइएको छ ।      

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.