
दाङ — २५ माघ २०७८
दाङ , ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र परेको छ । दुई वर्षमा निर्माण हुनुपर्ने जिल्लाको मुख्य सडक अलपत्र बनेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । २०७६ असारबाट निर्माण सुरु भएको यस खण्डको अहिलेसम्म ७ प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार २०७८ वैशाखमा यसको निर्माण पूरा भइसक्नुपर्ने हो । सडक निर्माणका लागि निकासा भएको रकम खर्च हुन सकेको छैन । निर्माण जिम्मा लिएका ठेकेदार नटिक्दा समस्या भएको हो । उनीहरू काम अलपत्र पारेर भाग्ने गरेका छन् । त्यसले काम अलपत्र छ । घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक फोरलेन बनाउनुपर्नेमा अहिलेसम्म सडकछेउको जमिन कटान गर्नेबाहेक अरू केही काम हुन सकेको छैन । सम्पन्न हुनुपर्ने समयभन्दा आठ महिनापछि गत मंसिर ११ मा घोराहीमा सडक निर्माण कार्य शुभारम्भ भन्दै तामझामका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका प्रमुख र सरोकारवालाको उपस्थितिमा निर्माण कम्पनीले अब सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म केही काम हुन सकेको छैन । सडकको काम गर्ने म्याद २०७९ वैशाखसम्म थपिएको छ । भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे आफैं उपस्थित भएर अब एक वर्षमा सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । पहिले खटाएका व्यक्तिले धोका दिएकाले काम ढिलो भएको भन्दै उनले अब तीव्र गतिमा काम गर्ने बताएका थिए । उक्त कम्पनीले तीन वटा पेटी ठेकेदारलाई काम दिएको थियो । तर उनीहरूले पनि अहिले काम अलपत्र पारेका छन् । सुरुमा फोरलेन निर्माण कम्पनी तथ्य इन्जिनियरिङले कामको जिम्मेवारी दिएका व्यवसायी अनुप पाण्डेविरुद्ध अहिले जिल्ला प्रशासनमा आर्थिक रूपमा ठगिएको भन्दै १७ जनाले निवेदन दिएका छन् ।
( कान्तिपुर दैनिक )
