Fast Nepal News

वीरगन्ज भन्सारबाट ६ महिनामै १ खर्बको इन्धन

banner single news

पर्सा — २१ माघ २०७८

पर्सा , इन्धन आयातमा भारततर्फको परनिर्भरताका कारण चालु आर्थिक वर्षको पहिलो ६ महिनामै वीरगन्ज नाकाबाट मात्रै झन्डै १ खर्ब रुपैयाँ बराबरको इन्धन भित्रिएको छ । प्रायः डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, मोबिल, हवाई इन्धन, मट्टीतेल, अलकत्रा, पेट्रोलियम कोक, फर्नेस आयल, प्रशोधित कोइला, वेस आयल, ट्रान्सफर्मर आयल, प्याराफिन मैन र अन्य तेल नेपालमा आयात हुने गर्छ । वीरगन्ज भन्सार कार्यालयको गत साउनदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार विभिन्न थरीका इन्धन आयात गर्दा ९१ अर्ब २५ करोड ५५ लाख ९१ हजार रुपैयाँ बाहिरिएको हो । गत आवको यही अवधिको तुलनामा मट्टीतेलबाहेक अधिकांश प्रमुख इन्धनको आयात बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वीरगन्ज भन्सारले संकलन गरेको कुल राजस्वमा इन्धनको हिस्सा मात्रै ३७.४० प्रतिशत छ ।

इन्धनपछि राजस्वमा सर्वाधिक योगदान गर्ने सवारी साधनको हिस्सा २४.०४ प्रतिशत छ । भन्सार कार्यालयका अनुसार यो ६ महिनामा ४४ अर्ब ४१ करोड रुपैयाँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ । जसबाट २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवमा डिजेलको आयात २२ प्रतिशतले बढेको छ । अघिल्लो आवको यसै अवधिमा २३ अर्ब १० करोड रुपैयाँ बराबरको ५ लाख ४ हजार ४ सय १७ किलोलिटर डिजेल आयात हुँदा १६ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ । डिजेलपछि सर्वाधिक आयात पेट्रोलको भएको छ । १६ अर्ब १२ करोड रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल भित्रिँदा ११ अर्ब १८ करोड रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.