Fast Nepal News

काठमाडौंमै इच्छाराजको अर्को हाउजिङ

banner single news

काठमाडौँ — १८ माघ २०७८

काठमाडौं, जोरपाटीस्थित बौद्धमा सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङको नयाँ हाउजिङ कम्पनी भेटिएको छ । अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त कम्पनी फेला पारेको हो । ‘यस कम्पनीबारे यसअघि जानकारीसम्म थिएन,’ स्रोतले भन्यो, ‘तामाङका नातागोता र अन्य पीडितहरूसँग बयानका क्रममा उक्त कम्पनीबारे रहस्य खुल्यो । अनि खोजी गर्दा भेटियो ।’ २० रोपनी क्षेत्रफल रहेको उक्त कम्पनी ‘बौद्ध हाउजिङ प्रालि’ का नामका कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ । इच्छाराज तामाङ र सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठका नाममा दर्ता रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड मात्र राखिएको छ । जसमा तामाङका नाममा साढे चार करोड र श्रेष्ठका नाममा ५० लाख रुपैयाँ मात्र पुँजी लगानी देखाइएको छ । सोही कम्पनी धितो राखेर एक वाणिज्य बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको पनि भेटिएको छ । ‘उक्त क्षेत्रमा रहेका निर्माणाधीन संरचना र कम्पनीका नाममा रहेको सम्पत्ति मूल्यांकनको काम भइरहेको छ,’ स्रोतले भन्यो । सम्पत्ति शुद्धीकरणले दुई वर्ष (२०७६ साल) देखि नै तामाङ आबद्ध कम्पनीका गतिविधि अनुसन्धान गरिरहेको छ ।

सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूका बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरेको छ । यसअनुसार २१ वटा कम्पनीमा तामाङ र परिवारका सदस्यका नाममा मात्र करिब ७३ करोड रुपैयाँ लगानी रहेको भेटाएको छ । नयाँ कम्पनी भेटिएपछि उनको लगानी रहेका कम्पनी संख्या २२ पुगेको छ । ‘यो कम्पनी बढी रहस्यमय देखियो । मालपोतमा जाँदा जग्गा देखिएन । तर सोही जग्गा धितो राखेर बैंकबाट कर्जा दिएको भेटिएको छ,’ स्रोतले भन्यो, ‘बैंकबाट पनि कागजात झिकाएका छौं । ती कागजातका आधारमा मालपोत कार्यालयमा पुनः जग्गा खोजिदिन भनेका छौं ।’ विभागले तामाङसँग बयान लिने र उनी आबद्ध कम्पनीका सम्पत्तिको मूल्यांकन गर्ने काम पनि सकेको छ । ‘मुद्दा दर्ता गर्ने अन्तिम तयारीमा थियौं, फेरि अर्को कम्पनी भेटियो,’ स्रोतले भन्यो, ‘यद्यपि छिट्टै मुद्दा दर्ता हुन्छ ।’ तामाङको धेरै कारोबार गैरबैंकिङ देखिएको अनुसन्धानका क्रममा विभागले फेला पारेको छ । ‘पटकपटक गरी तामाङ आबद्ध कर्मचारीले डेढ अर्ब रुपैयाँभन्दा बढी रकम बैंक र सिभिल सहकारीबाट निकालेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर त्यो रकममध्ये करिब ५० करोड मात्र बैंकिङ प्रणालीमा गएको देखिन्छ । एक अर्ब रुपैयाँ कता गयो, स्रोत भेटिएको छैन ।’ तामाङ आबद्ध २२ वटै कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ठूलो परिमाणमा ऋण लिए पनि यसको उपयोग औचित्य पुष्टि हुने गरी नभएको स्रोतले बताएको छ ।

तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । अदालतले गत पुसमा थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझेपछि यी १० जनालाई पनि मुद्दाको अन्तिम टुंगो नलागुन्जेसम्म थुनामै राख्नुपर्ने मागसहित आफूहरू उच्च अदालत मुद्दा दर्ता गरेको छ । केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले तामाङ र उनका कर्मचारीहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी र संगठित अपराध निवारण ऐन २०७० बमोजिम दोषी ठहर गरेको थियो । तामाङले विभिन्न प्रयोजनका लागि करोडौं रुपैयाँ रकम आफ्ना कर्मचारीको खातामा जम्मा गर्ने र उक्त रकम आफ्नो तजबिजमा खर्च गर्ने गरेको प्रहरीले फेला पारेको छ । सिभिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले बयानका क्रममा प्रहरीसमक्ष यस्तो बताएका थिए । तामाङले धेरै कारोबार गैरबैंकिङ प्रणालीबाट गर्ने गरेको पनि प्रहरीको अनुसन्धानमा देखिएको छ । ‘उनको बैंक खातामा त्यति धेरै कारोबार छैन,’ प्रहरी स्रोतले भन्यो, ‘यसको अर्थ उनले धेरै कारोबार बैंकिङ प्रणालीबाहिरै गरेको देखिन्छ ।’      
Inside Article Ads

सिभिल बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोजमा १८ मा तामाङलाई पक्राउ गरेको हो । उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्रिएको हो । सिभिल सहकारीले २ वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको बचतकर्ताहरूले गुनासो गरेका छन् । सहकारीमा सर्वसाधारणको एक लाखदेखि ८ करोड रुपैयाँसम्म बचत छ । ठगीमा संलग्न भएको आरोपमा सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछाने र सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरिएको थियो । तीमध्ये तामाङ र केशवलाल श्रेष्ठबाहेक अरू छुटिसकेका छन् । २०५७ सालमा स्थापित सिभिल सहकारीमा करिब साढे २ वर्षअघि समस्या सुरु भएको हो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर संस्थाले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । सोही अवधिमा संस्थाले करिब ८ अर्ब रुपैयाँ सिभिल होम्सलाई मात्र कर्जा दिएको छ, जुन कानुनविपरीत हो ।

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.