
बेइजिङ — १८ माघ २०७८
बेइजिङ , तिब्बत स्वशासित क्षेत्रका नवनियुक्त अध्यक्ष यान चिनहाईले तिब्बतले विभिन्न कठिनाइका बाबजुद नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिइरहेको बताएका छन् । दुई वर्षदेखि तिब्बती नाकामा अवरोध भइरहेको गुनासो आइरहेका बेला चिनहाईको यस्तो धारणा आएको हो । तिब्बतको अध्यक्ष पदमा नियुक्त भएपछि त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीसँगको भेटमा उनले नेपालसँग राम्रो सम्बन्ध बनाउने विषय उठाएका थिए । दक्षिण एसिया छिर्ने चीनको गेटवे भएकाले नेपालसँगको सम्बन्धमा चीनले सधैं नै उच्च प्राथमिकता दिँदै आएको बताउने गरेको छ । कोभिडबाहेक अन्य कुनै कारणले पनि नेपाल–चीन नाकामा आयातनिर्यातको काम प्रभावित नभएको नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए । ‘उचाइमा रहेको तिब्बतमा अक्सिजनको आपूर्ति एकदम कम हुन्छ । कोभिड छिरेमा स्वास्थ्य प्रणाली डामाडोल हुने भएकाले यस विषयमा चीन चिन्तित छ । त्यसैले नाकामा कडाइ गरेको हो, कुरा त्यत्ति हो,’ उनले भने ।
चीनले दुई वर्षदेखि कोभिडका कारण परिमार्जन गरेको अन्तर्राष्ट्रिय बन्दरगाहसम्बन्धी नीतिलाई अझै हेरफेर गरेको छैन । नेपाल मात्रै नभएर चीनका अन्य छिमेकी मुलुक मंगोलिया, लाओस, बैंककलगायत देशमा पनि चीनले उस्तै नियम लगाएको छ । ‘नेपाल नजिकको छिमेकी भनेर नै चीनले यति सजिलो गरिदिएको हो,’ ढकालले भने । चीनले तातोपानी नाकाबाट दैनिक २० चिनियाँ ट्रक सामान नेपालतर्फ पठाउने गरेको छ । परिमाण नबढाउनुको कारण ‘क्यारिङ’ क्षमता हेर्नुपरेकाले पनि हो । क्वारेन्टिनको प्रक्रियादेखि चीनबाट पठाइएका ट्रक फर्किन समय लाग्ने भएकाले परिमाण नबढेको ढकालको भनाइ छ । ‘तातोपानीबाहेक केरुङ नाकाबाट प्रतिदिन ९ वटा ट्रक सामान नेपाल भित्रिरहेका छन्, अझै बढी सामान त पठाउन सकिने हो,’ ढकालले भने, ‘यसबारे कुराकानी चलिरहेको छ । प्रतिदिन २०/२५ वटा ट्रक पठाउने गरी केही नयाँ मोडालिटी तयार गर्न कोसिस गरिरहेका छौं ।’
( कान्तिपुर दैनिक )
