Fast Nepal News

भारतीय पर्यटक नआएपछि लुम्बिनीका होटल सुनसान

banner single news

लुम्बिनी — १६ माघ २०७८

लुम्बिनी , कोरोना महामारीको गति सुस्ताएसँगै उकासिन थालेको रूपन्देहीलगायत छिमेकी जिल्लाको होटल व्यवसाय पुनः थलिएको छ । कोरोनाको दोस्रो लहरपछि अन्तर्राष्ट्रिय नाका खुला हुनेबित्तिकै भारतीय आउन पाउने भएपछि यहाँको पर्यटकीय क्षेत्र चलायमान बनेको थियो । तत्काल तेस्रो मुलुकका पर्यटक आउन सम्भव नभएका बेला यहाँका होटल तथा रेस्टुरेन्ट भारतीय तथा आन्तरिक पर्यटकमा निर्भर थिए । व्यवसाय उकासिन लागेका बेला कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि पुनः नाकामा कडाइ गरिएको छ । यस क्रममा नाकामा हुने कडाइ र झन्झटिलो प्रक्रियाले भारतीय पर्यटक नेपाल आउन छाडेको व्यवसायी बताउँछन् । रूपन्देहीको सिद्धार्थनगर–३ स्थित जोशी होटलमा रहेका २८ वटा कोठामध्ये तीनवटा मात्रै पाहुनाले भरिन्छ । ती कोठामा आउने पाहुना आन्तरिक पर्यटक रहेको सञ्चालक किशोर जोशीको भनाइ छ ।

बीचमा भारतका नागरिक आउँदा केही बिसेक भए पनि नाकाको कडाइले पर्यटक शून्यमा झरेको उनले जानकारी दिए । सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्षसमेत रहेका जोशीले पशुपतिनाथ, मनकामनाजस्ता धार्मिक तथा पर्यटकीय स्थल बन्द हुनेबित्तिकै भारतका पाहुना आउन कम भएको बताए । ‘विश्वका अन्य देशमा समेत कोरोना त्रास छ, पर्यटकीय गन्तव्य बन्द छैनन्,’ जोशीले भने, ‘नियम गराई पालना गर्न लगाएर पर्यटन व्यवसाय चलाउन दिनुपर्छ ।’ गौतम बुद्धको जन्मस्थल छिमेकमा रहेका होटल नाका हुँदै आउने पर्यटककै पर्खाइमा रहने गरेको र त्यही माध्यम बन्द गरिदिएपछि आफूहरू धरापमा परेको उनको भनाइ छ । बीचमा खुला राखी खोपकार्ड र पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नाकामा थप कडाइ आवश्यक नरहेको उनी बताउँछन् । तेस्रो मुलुकका पाहुना पनि आउन नपाउने, छिमेकीलाई समेत रोक लगाएपछि देशकै आर्थिक स्थिति कमजोर हुने जोशीको भनाइ छ ।

दुई वर्षदेखि सञ्चालनमा रहेको रूपन्देहीको सियारी–५ स्थित लुम्बिनी प्यालेस रिसोर्टमा ६० प्रतिशत भारतीय पर्यटक आउने गरेको प्रबन्धक ध्रुव शर्माले बताए । कम्तीमा ५० प्रतिशत भारतीय ग्राहक आए मात्र रिसोर्ट सञ्चालनमा सहजता हुने उनको भनाइ छ । ‘खाजा खाने मात्र होइन, विवाहका कार्यक्रमसमेत धेरैजसो भारतीयका हुन्थे,’ उनले भने, ‘बिग्रिसकेको स्थिति सुधार्न राम्रो भूमिका खेलेका भारतीय ग्राहकलाई नेपाल प्रवेशमा सजिलो गराउनुबाहेक विकल्प छैन ।’ अहिले पनि फोनबाट सोधिरहने, आउन खोज्ने ग्राहकको संख्या अधिक भए पनि कुनै उपाय बताउन नसकिएको उनी बताउँछन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको होटल केलियो पनि ग्राहकको पर्खाइमा छ । सञ्चालक पदम ढकालका अनुसार स्वर्गद्वारी, नरपानी, बर्दियालगायतका स्थानमा जाने भारतीय पर्यटकको विश्रामको गन्तव्य केलियो थियो । ६० प्रतिशत भारतीय आउने होटलमा अहिले शून्यता छाउँदा सञ्चालनमै समस्या भएको उनको गुनासो छ ।

‘मुख्य सडकमै रहेकाले भारतीयका लागि उत्कृष्ट होटलकै रूपमा सञ्चालित थियौं,’ उनले भने, ‘कोरोना र सरकारको नीतिले साह्रै अप्ठ्यारो परेको छ ।’ बैंकको ऋणमा ब्याज थपिने र भएका कर्मचारीलाई पाल्न नसक्ने अवस्था आउँदा होटल नै बन्द गरी अरू काम गर्नुपर्ने स्थिति आइसकेको उनले बताए । वार्षिक आम्दानी यति भयो भन्ने विषयमा वार्षिक घाटा भएको कुरा आफन्ती, शुभचिन्तकमाझ सुनाइरहन परेको ढकालको गुनासो छ । नाका छेउ र मुख्य सहरका सबै होटल बाह्य पर्यटकमै निर्भर रहेको उपाध्यक्ष जोशीको भनाइ छ । ‘महामारी आइरहला, अन्य विकल्प खोज्दै नखोज्ने ?’ उनले भने, ‘पर्यटकीय क्षेत्र र व्यवसाय चल्न नदिए राज्यको कोषमा जम्मा हुने राजस्वमा कमी आउँछ ।’ त्यति मात्र होइन, व्यवसायीलाई होटल मालिकबाट सडकसम्मै ल्याउने स्थिति सरकारले बनाइरहेको उनको दाबी छ ।

Inside Article Ads

सिद्धार्थनगरमै रहेको तारे होटल मौर्यामा हाल नेपाली विवाहका कार्यक्रम चलेका छन् । यी कार्यक्रम मौसमी भएकाले पर्यटककै पर्खिनुपरेको सञ्चालक रामबहादुर कोइरीको भनाइ छ । बीचमा खुला हुँदा १० प्रतिशत जति भारतीय आउने गरेको र अहिले आउनै नदिएपछि व्यापार सेलाइरहेको उनले बताए । ‘दुई वर्ष त्यत्तिकै गयो, व्यवसाय चलाउनै पाइएन,’ उनले भने, ‘अब फेरि उही स्थितिमा धकेलिएपछि आफूहरूको लगानी डुब्ने अवस्था आइसकेको छ ।’ क्यासिनो सञ्चालन गर्न तयारी गरिरहे पनि पटक–पटक होटल सञ्चालनमा बाधा आइरहँदा क्यासिनो चलाउने विषय नै तनावपूर्ण भइरहेको कोइरीले जनाए । तीन महिनादेखि मात्र सञ्चालनमा आएको होटल नान्सको क्यासिनोमा कोभिडले समस्या थपेको छ । सिद्धार्थ गेमिङ जोनले सञ्चालन गर्ने गरी अघि बढाएको क्यासिनोमा नेपालीलाई प्रवेश नहुँदा भारतीयमै निर्भर रहेको सञ्चालक अमितकुमार गुप्ताले बताए । सरकारले स्वास्थ्यका हिसाबले चाल्ने कदममा आफूहरूको विरोध नभई पर्यटकलाई सहज वातावरणमा प्रवेश गर्ने माध्यम बनाइदिनुपर्ने उनको भनाइ छ ।

‘खोप लगाएर मात्र आउन पाइन्छ, पीसीआर गराउनुपर्छ जस्ता यहाँका नियम उताका पाहुनालाई थाहा नहुन सक्छ,’ उनले भने, ‘जानकारीको माध्यम बढाएर भारतसम्मका पर्यटकलाई ल्याउन सके मात्र व्यवसाय चल्छ ।’ आफूहरू भर्खर सिक्दै र चलाउँदैको स्थितिमा रहँदा आएको अप्ठ्यारो परिस्थितिले क्यासिनोमा कार्यरत ८० भन्दा बढी कर्मचारीको रोजगारी र आफूहरूको लगानीमा चुनौती थपिने उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका १ सय २४ बढी होटल तथा रेस्टुराँको अवस्था पनि उस्तै छ । विदेशी र भारतीयको आगमन नभएसम्म आन्तरिक पर्यटकले यहाँका होटल चल्न नसक्ने व्यवसायीको भनाइ छ । रूपन्देहीका होटलमा मात्र २५ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । त्यो लगानीमा टेवा थप्ने धेरैजसो पर्यटक भारतीय हुने भएकाले आउने पर्यटकको सुरक्षा र उनीहरूलाई बिनाझन्झट नेपाल आउने वातावरण बनाइदिन व्यवसायीले आग्रह गरेका छन् । कोरोनाका कारण होटल बन्द गर्नुपरेपछि कतिपयले होटल बन्द गरिसकेका छन् भने कतिपयले बिक्री गरी अन्य बाटो रोज्न बाध्य भएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.