
काठमाडौँ — १६ माघ २०७८
काठमाडौँ , स्वदेशमै फेस मास्क उत्पादन हुन थाले पनि आयात भने बढ्दो क्रममा नै देखिएको छ । मास्क निर्यात भने घट्दो क्रममा रहेको भन्सार विभागको तथ्यांक छ । गत वर्षको तुलनामा यस वर्ष मास्क आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको विभागको तथ्यांक छ । गत वर्ष पहिलो ६ महिनामा १५ करोड १५ लाख ३२ हजार रुपैयाँको मास्क निर्यात भएको थियो । यस वर्ष भने २७ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र मास्क निर्यात भएको छ । मास्क निर्यात हुने देशमा कोरोना संक्रमणको दरअनुसार निर्यातको संख्यामा घटबढ भइरहेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । विभिन्न देशबाट मास्क आयात भइरहेको अवस्थामा उपत्यकाभित्र रहेका उद्योगमा मास्कको माग बढिरहेको छ । बाहिरका उद्योगका मास्क भने कारखानामै थन्किएका छन् । दमकस्थित ग्रिन नेपालको कारखानामा सात लाख थानभन्दा बढी मास्क थन्किएका छन् । उचित मूल्य नपाउँदा मास्क कारखानामै राख्नुपरेको सञ्चालक नन्दलाल पाण्डे बताउँछन् । देशभर ओमिक्रोनको संक्रमण बढिरहेको अवस्थामा पनि उद्योगमा मास्कको माग भने घटिरहेको उनले जानकारी दिए ।
‘कोरोना महामारीको सुरुवातमा कारखाना सञ्चालन गरें, पहिले यहाँ अन्य थिएन, अहिले दमकमै ४ वटा मास्क उत्पादन गर्ने कम्पनी छन्,’ उनले भने । चिनियाँ मेल्टब्लोन प्रयोग गरेर बनाइएका ५० थान मास्कको होलसेल मूल्य सय रुपैयाँमा बेच्दा पनि उनको मास्क कारखानामै थन्किएका हुन् । घाटा खाएर बेच्नुभन्दा मास्क अभाव हुँदा बेच्ने भन्दै थन्काइराखेको उनले बताए । ‘देशबाहिर मास्क पठाउन आफ्नो लिंक छैन, पहिला काठमाडौंसम्म पुग्थ्यो, अहिले पूर्वमै सीमित छ,’ उनले भने । उपत्यका बाहिरको कारखानामा मास्क थन्किए पनि काठमाडौंमै सञ्चालन कम्पनीमा भने मास्कको माग बढिरहेको बज्र ग्रुपअन्तर्गत बज्र हेल्थ केयर प्रालिका मार्केटिङ म्यानेजर सुनिल पौडेलको भनाइ छ । ‘हिजोआज मास्कको माग बढ्दो छ, मास्क तयार हुनासाथ बजारमा गइहाल्छ,’ उनले भने, ‘प्रतिदिन ३० देखि ४० हजार पिस मास्क उत्पादन गरिरहेका छौं, बजार राम्रै पाएको छ ।’
गत वर्षको तुलनामा मास्क निर्यात घटे पनि आयात भने बढ्दै गएको छ । गत वर्ष पहिलो ६ महिनामा १ अर्ब ६६ करोड ९४ लाख ४ हजार रुपैयाँको आयात भएको थियो । तर अहिले यही ६ महिनामा ३ अर्ब १४ करोड ६१ लाख १८ हजार रुपैयाँ बराबरको मास्क आयात भइसकेको विभागको तथ्यांक छ । गत वर्ष जम्मा २ अर्ब ५७ करोड ६५ लाख ५० हजार रुपैयाँको मास्क आयात भएको विभागले बताएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नै १ अर्ब रुपैयाँभन्दा बढीको मास्क आयात भइसकेको छ । कोभिडको संक्रमणपछि कच्चापदार्थ आयात गरी स्वदेशमै मास्क उत्पादन गर्न थालिएको हो । मास्क उद्योग मात्र छुट्टै नभए पनि साना–ठूला सबैखाले कम्पनीले मास्क उत्पादन गरिरहेको गार्मेन्ट संघ नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । ‘मास्क उत्पादन घटेको होइन, नेपालमै खपत बढेको हो,’ उनले भने, ‘कोरोना महामारीपछि मास्क ‘युज एन्ड थ्रो’ गर्ने संख्या बढेको छ ।’ हिजोआज सामानको मूल्यभन्दा पठाउने शुल्क बढी पर्ने भएकाले पनि मास्क निर्यातमा कमी आएको हुन सक्ने उनले जानकारी दिए ।
( कान्तिपुर दैनिक )
