Fast Nepal News

शीत भण्डारले सुन्तलाको आम्दानी दोब्बर

banner single news

अर्घाखाँची — १३ माघ २०७८

अर्घाखाँची , पाणिनि गाउँपालिका–२ पोखराथोकका अगुवा किसान चन्द्रकान्त पौडेलले अघिल्ला वर्षमा सुन्तला पाकेपछि बिक्री गरिहाल्थे । अहिले उत्पादन भएका आधाजति सुन्तलाका दाना घरअगाडिको कोल्ड स्टोर (चिस्यान केन्द्र) मा राखेका थिए । ३ सय टन क्षमताको स्टोरमा उनीसहित पणेना, सिम्ले, खिदिम र पोखराथोकसहित सिंगो गाउँपालिकाका अढाई सय सुन्तला किसानमध्ये २३ ले ६ हजार ५ सय क्यारेटमा १ लाख ३० हजार सुन्तला स्टोरमा राखेका छन् । २ करोड रुपैयाँ लगानीमा गाउँपालिकाले निर्माण गरेको कोल्ड स्टोरलाई सुन्तला किसानको शिवशक्ति मिश्रित कृषक समूहलाई सञ्चालनको जिम्मेवारी दिएर हस्तान्तरण गरिएको छ । ‘सुन्तला पाक्ने सिजनमा किलोको ६०/७० रुपैयाँमा बोटबाटै बिक्री भएको थियो, स्टोरमा राखेको सुन्तला अहिले त प्रतिकिलो १ सय २० रुपैयाँमा बिक्री भएको छ,’ शिवशक्ति मिश्रित कृषक समूहका कोषाध्यक्षसमेत रहेका पौडेलले भने, ‘३ हजार टन जति सुन्तला बिक्री भइसके । सुन्तलाको स्वाद पहिलेको जस्तै छ । यसबाट हामी उत्साहित छौं ।’

कोल्ड स्टोरमा अहिले सुन्तला, कागती, मौसम र अमिला छन् । कागती पहिला ६० रुपैयाँ किलोमा बिक्री भएको थियो । अहिले १ सय ४० रुपैयाँमा बिक्री भएको पौडेलले बताए । मौसम र अमिला बिक्री भएको छैन । ‘वर्षौंदेखि सुन्तला बोटबाट र आफैं टिपेर ग्राहकलाई बिक्री गर्थ्यौं,’ उनले भने, ‘ग्राहकले भनेको मूल्यमा बिक्री गर्नुपर्थ्यो । हामीले स्टोरमा राखेर यसरी बिक्री गरेको पहिलो अनुभव हो । आउँदो वर्ष उत्पादन भएजतिका सबै सुन्तला मैले स्टोरमै राख्छु, धेरै किसानले राख्ने सोचमा छन् ।’ चैत/वैशाखसम्म केही सुन्तला स्टोरमै राखेर हेर्ने उनले बताए । पहाडमा उत्पादित वस्तु बेसिजनमा बुटवल, तानसेनलगायत ठूला बजारमा पठाउँदा किसानलाई दोब्बर आम्दानी भएपछि कृषिकर्मतिर युवाहरू उत्साहित भएको उनले बताए ।

‘कोल्ड स्टोरमा राखेका सुन्तला बिक्री गर्दा आम्दानी दोब्बर थपियो,’ समूहका अध्यक्ष रेवतीप्रसाद पौडेलले भने, ‘आउँदो वर्ष फलेका सबै दाना स्टोरमा राखेर बेमौसमी सिजनमा बिक्री गर्छु । सुन्तला र सुन्तलाजन्य वस्तुसहित आलु, तरकारी, खाद्य वस्तु पनि कोल्ड स्टोरमा राखेर बेसिजनमा बिक्री गर्दा फाइदा हुने रहेछ ।’ सुन्तलाका बोटभित्र अन्तरबाली प्रणालीबाट आलु, काउली, मूला, सिमीसहित सखरखण्ड, तरुल, पिँडालु, आलु, अदुवा, हलेदोसहित तरकारी र मसलाबाली उत्पादन हुन्छ । अब फलफूल, तरकारीसहित उत्पादित वस्तु स्टोरमा राखेर बेसिजनमा बिक्री गर्दा किसानलाई धेरै फाइदा हुने हुँदा आफूहरू उत्साहित भएको पौडेलको भनाइ छ । यस वर्ष पाणिनिमा ७ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए ।

Inside Article Ads

‘सिजनमा उत्पादित सुन्तलासहित फलफूल, तरकारी, मसलाबाली र अन्नबाली स्टोरमा राख्ने र बेसिजनमा महँगो मूल्यमा बिक्री गर्दा सीधै किसानलाई फाइदा हुन्छ,’ उनले भने, ‘कोल्ड स्टोरले किसान उत्साहित छन् । उत्पादन वृद्धि गराउने गरी कृषि कार्यक्रम पनि अघि सारेका छौं ।’ गाउँमा उत्पादित तरकारी तथा खाद्यवस्तु राख्न मालारानी गाउँपालिकाले चार स्थानमा कोल्ड स्टोर निर्माण गरेको छ । वडा ५ को बाँगीमा १ सय टन र वडा २ को डाँडाखर्क, वडा ३ को कुनाखर्क र वडा ६ को रतनमारेमा १०/१० टन क्षमताको कोल्ड स्टोर बनेका छन् । १ करोड २९ लाख रुपैयाँ लगानीमा चारवटा स्टोर निर्माण गरिएको हो । बाँगीमा निर्माण सकिएको २० दिनसम्म स्टोर खाली छ । यहाँ आलु, तरकारीसहित अन्नबाली स्टोरमा राखेर बेमौसममा बजारमा निर्यात गर्ने लक्ष्य हो । टनका टन आलु उत्पादन गर्ने र स्टोरमा राखेर बेसिजनमा सदरमुकामसहित जिल्लाबाहिर निर्यात गर्ने गरी स्टोर निर्माण गरिएको हो ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.