Fast Nepal News

धान खरिद सुरु

banner single news

पर्सा —  २६ पुस २०७८

पर्सा , खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्ज शाखाले आइतबारदेखि पुनः धान खरिद थालेको छ । कम्पनीले बिचौलिया सक्रिय रहेको आशंकामा झन्डै २ साता धान खरिद रोकेको थियो । शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहाले आइतबार करिब ८० ट्र्याक्टरमा ल्याइएको १ हजार क्विन्टल धान किनिएको बताए । ‘किसानको सुविधाका लागि एकैसाथ ३ वटा काँटा सञ्चालन गरेर तौल गरिरहेका छौं,’ उनले भने, ‘यसअघि ६ हजार ७ सय क्विन्टल धान किनिएको थियो ।’ ६० क्विन्टलभन्दा धेरै ल्याउने किसानको धान खरिद नगरिएको र २५ क्विन्टलभन्दा बढी ल्याउनेसँग जग्गाको लालपुर्जासमेत लिने गरिएको उनले बताए ।

‘विशेषगरी साना किसानलाई ग्राह्यता दिएका छौं, २० देखि २५ क्विन्टल धान ल्याउने किसान हाम्रो प्राथमिकतामा पर्छन्,’ उनले भने, ‘यसअघि धान ल्याउने किसानसँग सम्बन्धित वडाको सिफारिस माग्ने गरिएकोमा त्यो नियमलाई कायमै राखेका छौं ।’ किसानको भेषमा व्यापारी र बिचौलिया आएको शंका लागेमा उनीहरूको धान फिर्तासमेत पठाउने गरिएको उनले बताए । ‘किसानको भेषमा बिचौलिया र व्यापारी आए उनीहरूलाई शंकाको घेरामा राखेर छानबिन पनि गर्छौं,’ उनले भने, ‘शंका लागे वा किसान नभएको पुष्टि भए धानसहित फिर्ता पठाइदिन्छौं ।’ कम्पनीले पुस ७ देखि वीरगन्जमा धान खरिद सुरु गरेको थियो । वीरगन्ज शाखाले यस वर्ष कोटा पाएको १८ हजार क्विन्टल धान माघ १५ सम्म खरिद गरिसक्ने लक्ष्य राखेको छ । किसानले उत्साहजनक रूपमा धान ल्याइरहेकाले त्यसअघि नै लक्ष्य पूरा हुने सम्भावना रहेको कुशवाहा बताउँछन् ।

Inside Article Ads

शाखाले यस वर्ष सोना मन्सुली धान १५ हजार क्विन्टल र जिरा मसिनो धान ३ हजार क्विन्टल खरिदको कोटा पाएको छ । यस वर्ष सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ र जिरा मसिनोको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय १० रुपैयाँ तोकिएको छ । गत वर्ष शाखाले ३५ हजार क्विन्टल सोना मन्सुली र १ सय १६ क्विन्टल जिरा मसिनो धान खरिद गरेको थियो । गत वर्ष सोना मन्सुलीको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ र जिरा मसिनाको २ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.