Fast Nepal News

हुस्सुले हिमाली जिल्लामा उडान ठप्प

banner single news

मुगु र हुम्ला — २५ पुस २०७८

मुगु र हुम्ला, नेपालगन्जमा बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेपछि कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा ठप्प हुन थालेको छ । नेपालगन्ज विमानस्थलबाट मुगु र हुम्लासहित जुम्ला, डोल्पा र बाजुराको कोल्टीमा प्रतिदिन ५ देखि ७ वटा उडान हुने गरेकामा अहिले हुस्सुले एउटा उडान गर्न पनि समस्या हुन थालेको छ । हवाई उडान कम हुन थालेपछि विमानस्थलमा यात्रु अलपत्र पर्न थालेका छन् । नेपालगन्जमा बाक्लो हुस्सु लाग्दा एक सातादेखि उडान प्रभावित भएको रारा विमानस्थल प्रमुख विशाल बरुणले बताए । ‘साताअघि ५/७ वटा उडान हुन्थे,’ उनले भने, ‘अहिले नेपालगन्ज र सुर्खेत जाने यात्रुहरू सदरमुकाममै अलपत्र छन्, हिउँ खेल्न रारा आउने यात्रुलाई पनि मुगु भित्रिन समस्या भयो ।’

नेपालगन्जमा बिहानैदेखि झन्डै १/२ बजेसम्म हुस्सु लाग्ने र त्यहाँ मौसम खुल्दा मुगुमा हावा चल्ने भएकाले उडान ठप्प भएका हुन् । नेपालगन्जमा बाक्लो हुस्सु लाग्दा सडक सुविधा नपुगेको हुम्लामा पनि उडान गर्न समस्या भएको छ । अहिले एउटा उडान गर्न पनि मुस्किल भएको सिमकोट विमानस्थल प्रमुख मोहन गिरीले जानकारी दिए । हुम्लामा झन्डै एक सय यात्रु जहाजको प्रतीक्षामा रहेको उनको भनाइ छ । नेपालगन्ज विमानस्थलमा पनि कर्णालीका हिमाली जिल्लामा जाने यात्रुको चाप छ । जिल्ला अस्पतालले रिफर गरेका बिरामीलाई पनि समयमै नेपालगन्ज र सुर्खेतका ठूला अस्पतालमा पुर्‍याउन समस्या भएको छ । 

Inside Article Ads
मुगुमा धावनमार्ग कच्ची हुँदादेखिको हवाई भाडा अहिलेसम्म कायमै छ । जिल्लामा हवाई सेवा सञ्चालन भएको १८ वर्षसम्म यात्रुले महँगो हवाई भाडा तिरिरहेका छन् । रारा विमानस्थलबाट नेपालगन्ज उडान गर्ने निजी जहाजले ६ हजार ५ सयदेखि ७ हजार रुपैयाँसम्म भाडा लिने गरेका छन् । नेपाल एयरलाइन्सको भाडा भने ५ हजार ५ सय ३५ रुपैयाँ छ । धावनमार्ग कालोपत्र भइसक्दा पनि उही भाडा तिर्नुपर्ने बाध्यता भएको स्थानीय कमल शाहीले गुनासो गरे । यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने हवाई भाडामा एकरूपता ल्याउन निजी कम्पनीका कर्मचारीसँग बैठक बस्ने तयारी गरिएको बताए ।    

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.