Fast Nepal News

पटक–पटक निरीक्षण, सेवा अझै अनिश्चित

banner single news

जनकपुर — २२ पुस २०७८

जनकपुर , भारत सरकारले निर्माण गरिदिएको जयनगर–जनकपुर–कुर्था–बर्दिवास रेल सेवाअन्तर्गतका भौतिक संरचनाको नेपाल र भारतका उच्च अधिकारीले फेरि निरीक्षण गरेका छन् । पछिल्लो २ वर्षमा दुवै देशका उच्च अधिकारीहरूले निरीक्षण गरेको यो तेस्रो पटक हो । ७ सय करोड भारतीय रुपैयाँमा ब्रोडगेज लिक, स्टेसन र प्लेटफर्म, कर्मचारी आवासलगायत सबै संरचना बनेर आयोजना हस्तान्तरणसमेत भइसक्दा रेल सेवा भने अझै सुरु हुन सकेको छैन । निरीक्षण टोलीमा नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झासँगै भारतको रेल मन्त्रालयअन्तर्गतको रेल्वे बोर्डका कार्यकारी निर्देशक डा. मनोज सिंह, विदेश मन्त्रालयका त्रिभुवन मिश्रा, समस्तीपुर रेलका प्रमुख तथा संरचना निर्माता कम्पनी कोंकण रेल्वेका पदाधिकारी सहभागी थिए । निरीक्षणपछि भारतीय रेल्वे बोर्डका कार्यकारी निर्देशक सिंहले रेल संरचना पूर्णतः तयारी अवस्थामा रहेकोले जुनसुकै बेला सेवा सुरु गर्न सकिने बताए ।

‘रेल संरचना तयारी अवस्थामा छ । संरचनाको हस्तान्तरण पनि भइसकेको छ । पहिलो चरणमा कर्मचारीलाई तालिम पनि दिइसकिएको छ । अब तपाईंहरू जतिबेला पनि रेल सञ्चालन गर्न सक्नुहुन्छ,’ उनले भने । २ वर्षमा पटक–पटक मिति तोकिए रेल सञ्चालनमा आउन सकेको छैन । कार्यकारी निर्देशक सिंहले उद्घाटन र सञ्चालन राजनीतिक विषय रहेकाले केही भन्न नसकिने बताए । नेपाल रेल्वेका महाप्रबन्धक झाले समेत रेल सञ्चालनको विषय दुवै मुलुकको प्रधानमन्त्री तहबाट टुंगिने विषय रहेको स्मरण गराए । रेल संरचना, रेल इन्जिनलगायत नेपाललाई हस्तान्तरण भइसकेको, अघिल्लो साता रेल सञ्चालनसम्बन्धी कानुन पनि आइसकेकोले यथाशीघ्र रेल सञ्चालन हुने उनको दाबी थियो । ‘नेपाल रेल्वे ऐन, २०२० खारेज भएयता हामीसँग कानुन थिएन ।

Inside Article Ads

अघिल्लो साता नयाँ कानुन पारित भइसकेको छ । रेल भाडा पनि निर्धारण भइसकेको छ । अब छिट्टै रेल सञ्चालन हुन्छ,’ उनले भने । संरचना तयारी भएर पनि सुरक्षा व्यवस्था कमजोर हुँदा रेलका सामान चोरी भइरहेको छ । भारतीय र नेपाली अधिकारीहरूले यसमा चिन्ता व्यक्त गरे । ‘दिनदिनै रेल्वे ट्र्याकमा जडान भएको क्लिप, नट भोल्ट चोरी हुन्छ । यी स–साना कारणले पनि रेल सञ्चालन गर्न समस्या हुन सक्छ,’ कार्यकारी निर्देशक सिंहले भने । भारत सरकारको सहयोगमा रेल्वे स्तरोन्नति आयोजना सुरु हुनुअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) सम्म न्यारोगेज रेल सञ्चालनमा थियो । आयोजनाअन्तर्गत जयनगरदेखि बर्दिवाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेल सञ्चालन हुनेछ । तर, हाल जयनगर–कुर्थासम्मको ३५ किलोमिटरको निर्माण कार्य सम्पन्न भएकोले कुर्थासम्म मात्र रेल सञ्चालन हुनेछ ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.