Fast Nepal News

भरतपुरमा धमाधम खुल्दै ठूला होटल

banner single news

चितवन — ८ पुस २०७८

चितवन , भरतपुर हाकिमचोकनजिकै खुलेको चितवन मिडटाउन रिसोर्ट (सीएमआर) ले पुस ५ देखि सेवा सुरु गरेको छ । कोरोना महामारी सुरु हुँदाताका निर्माण सुरु भएको यो होटलले संरचना बनाई सेवासमेत दिन थालेको हो । होटलमा ३२ करोड रुपैयाँको लगानी रहेको बताइएको छ । चारतारे स्तरको पूर्वाधार र सुविधा रहेको होटल सिराइँचुली पनि कोरोना महामारीकै बीचमा सञ्चालनमा आएको छ । भरतपुर हाइटमा रहेको होटल सिराइँचुलीको निर्माण लागत ९० करोड रुपैयाँ रहेको सञ्चालकहरू बताउँछन् । हाडजोर्नीका चिकित्सक डा. प्रमोद लामिछानेले २० करोड रुपैयाँ खर्चेर भरतपुर महानगरपालिका–१ मा बनाएको ठिमुरा रिसोर्ट पनि भदौ अन्तिमदेखि सञ्चालनमा आएको छ । भरतपुरको बुद्धचोक आडमा रहेको तारापुञ्ज रिसोर्ट प्रालिले पनि हालै सेवा सुरु गरेको छ । यसको निर्माण लागत १५ करोड रुपैयाँ रहेको छ । गत वर्षको पुसमा भरतपुर विमानस्थलपछाडि चितवन गार्डेन रिसोर्ट (सीजीआर) सञ्चालनमा आयो । जसको निर्माण लागत ३० करोड रुपैयाँ रहेको सञ्चालकहरूले बताएका छन् । चितवन पर्यटकीय क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्ज आड र राप्ती किनारमा थुप्रै पर्यटकीय होटल, रिसोर्ट खुलेका छन् ।

तर जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र सदरमुकाम भरतपुर क्षेत्रमा आधुनिक स्तरको सेवा सुविधा दिने राम्रा होटलहरूको अभाव थियो । कोरोना महामारी लागेयता पर्यटन र अन्य आर्थिक गतिविधि सुस्ताएको छ तर भरतपुर क्षेत्रमा धमाधम स्तरीय होटलहरूले सेवा दिन थालेका छन् । ‘२०७७ वैशाखबाट सेवा सुरु गर्ने योजनामा थियौं । तर त्यसअघि चैतबाटै कोरोनाका कारण विश्वभर लकडाउन भयो । हामीले हालै यो होटल सञ्चालनमा ल्याएका छौं । अहिले होटलको जुन बिजनेस छ, त्यसबाट सन्तुष्ट छौं,’ सिराइँचुली होटलका अध्यक्ष चुडामणि खनालले भने । चारतारे होटलको स्वीकृति लिने प्रक्रिया पूरा गरेको र चाँडै प्रमाणपत्र पाउने उनले बताए । ‘चितवनमा दुई–दुईवटा मेडिकल कलेजहरू छन् । पर्यटकीय क्षेत्र त हो नै, पोल्ट्री उद्योग फस्टाएको छ । अन्य उद्योग र सेवा व्यवसाय पनि फैलँदो छ । त्यसैले स्तरीय सेवा दिने होटलको आवश्यकता देखेर लगानी गरेका हौं,’ उनले भने । लकडाउन सुरु हुनु एक महिनाअघि मात्रै चितवन मिडटाउन रिसोर्ट बन्न सुरु भएको थियो । ‘हालसम्म कोरोना महामारी कायमै छ तर आर्थिक गतिविधि भने बढेको छ । घुम्ने, यात्रा गर्नेहरू मात्रै नभएर व्यापार व्यवसायको सिलसिलामा भरतपुर आउनेहरूले पनि स्तरीय होटलमा बस्न पाउन् भन्ने हिसाबले यो होटल निर्माण गरेका हौं । सेवा पनि स्तरीय दिनेछौं,’ चितवन मिडटाउन रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भने ।

अधिकांशमा सामूहिक लगानी

सञ्चालनमा आएका प्रायः ठूला होटलहरूमा सामूहिक लगानी छ । ठिमुरा रिसोर्टमा भने व्यक्तिगत लगानी छ । चितवन रिसोर्ट प्रालिमा ६२ जनाको लगानी छ । चितवन गार्डेन रिसोर्टमा ५५ जनाले लगानी गरेका छन् । तारापुञ्ज रिसोर्ट पनि सामूहिक लगानीमा निर्माण भएको हो । सिराइँचुलीमा एउटा कम्पनी र २४ व्यक्तिको लगानी छ । ‘होटल व्यवसायमा अनुभव भएका र अन्य व्यवसायमा सफल भएका व्यक्तिहरू संलग्न भएर लगानी गरेका हौं । यसले स्रोत जुटाउन त सकियो नै, आउँदा दिनमा होटल सञ्चालनमा पनि राम्रो प्रभाव पर्छ । आ–आफ्नो व्यवसाय र नेटवर्कसँग जोडिएकाहरूले ग्राहक ल्याउन सक्नेछन्,’ चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भने । स्तरीय निर्माण र सेवाका लागि आवश्यक हुने ठूलो स्रोत जुटाउन सामूहिक प्रयासमा लागेको सञ्चालकहरू बताउँछन् ।

Inside Article Ads

ठूला हल निर्माणमा जोड

भरतपुरमा पछिल्लो समय विभिन्न कार्यक्रमहरू आयोजना हुने क्रम बढेको छ । त्यसैले यहाँ बन्ने होटलहरूले हल निर्माणमा जोड दिएका छन् । चितवन मिडटाउन रिसोर्टमा ४२ कोठा छन् । तर २५ सय जना अटाउने एउटा ठूलो सभाहल, ७ सय जना अटाउने मध्यम र २ सय जना अटाउने सानो हल पनि निर्माण गरिएको छ । यसबाहेक २०/३० जना बस्न मिल्ने मिटिङ रुमहरू पनि होटलमा छन् । सिराइँचुलीमा मिटिङ रुमसमेत गरेर साना–ठूला ८ वटा हल छन् । ठिमुरा रिसोर्ट, तारापुञ्ज र चितवन गार्डेन रिसोर्ट सबैमा यस्ता हलहरू बनाइएको छ ।

गोष्ठी, सेमिनार, बिहे, भोजदेखि संघसंस्था र संगठनका सभासम्मेलन गर्न, दलहरूका कार्यक्रम गर्न मिल्ने गरेर होटलहरूले हल बनाएका हुन् । देशभरका व्यक्तिहरू चितवनमा सजिलै जमघट हुन सक्छन् । त्यसैले खान बस्न मात्रै नभएर कार्यक्रम गर्न हल आवश्यक परेको होटल सञ्चालकहरूको भनाइ छ । ‘हलसहितका राम्रा होटल भए नारायणगढ, भरतपुरमा धेरै कार्यक्रमहरू हुने सम्भावना छ । भरतपुरमा अहिले खुलेका होटल, रिसोर्टहरूले यो अभाव पूरा गर्न सक्छन् । तर यस्ता होटलहरू अझै खुल्न आवश्यक छ । चितवनमा राम्रा होटलको अझै सम्भावना छ,’ लायन्स क्लब डिस्ट्रिक ३२५ बी २ का गभर्नर रामप्रसाद भट्टले भने ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.