
काठमाडौँ — ७ पुस २०७८
काठमाडौँ , कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले एपेक्स कलेजमा लगानी गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त अवसर उपलब्ध गराउने उद्देश्यसहित लगानी गर्ने निर्णय लिइएको केएमजीकी कर्पोरेट रिलेसन म्यानेजर नीति बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘केएमजीले उच्चकोटिको प्रतिबद्ध शैक्षिक संस्था एपेक्स कलेजसँग सहकार्य गर्न थालेको सुनाउन पाउँदा हामीलाई खुसी लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २००० देखि सञ्चालित एपेक्स कलेज देश–विदेशमा अनुभव प्राप्त ३२ जना पूर्णकालीन प्राध्यापक एवं ३८ जना व्यवस्थापकीय कर्मचारीसहितको सशक्त टिम रहेको आफ्नो क्षेत्रको प्रतिष्ठित संस्था हो ।’ अघिल्लो साता मात्र केएमजीको भगिनी कम्पनी एमएनएस नेक्स्ट भेन्चर कर्पले यससँग एक सम्झौता गरी एपेक्स कलेज स्टार्टअप सेन्टर बनाउन १ करोड रुपैयाँको कोष खडा गर्ने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ ।
‘यो धनराशि कलेजका विद्यार्थी एवं पूर्वविद्यार्थीहरूको नवीन सोचमा आधारित परियोजनालाई सघाउन उपयोग गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘एपेक्सबाट दीक्षित विद्यार्थीलाई प्रतिष्ठित उद्योग–प्रतिष्ठानहरूले प्राथमिकतासाथ रोजगारीमा लिने प्रबन्ध मिलाउन यसबीचमा छुट्टै समझदारीपत्रमा पनि हस्ताक्षर गरिँदै छ ।’ एपेक्सका उत्कृष्ट विद्यार्थीलाई व्यावहारिक ज्ञान आर्जनका लागि पेड इन्टर्नसिपमा पठाउने तथा त्यहीँबाट नियमित काममा राख्न सकिने व्यवस्था मिलाइने जनाइएको छ । ‘हाम्रा विद्यार्थीहरूको क्षमता अभिवृद्धिको वातावरण बनाउन एपेक्सभित्र चाँडै नै बिजनेस इन्टेलिजेन्स सेन्टरको स्थापनाका साथै मार्केट–रिसर्च र प्रकाशनको काम पनि थालिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो सेन्टरले नियमित रूपमा विभिन्न उद्योग–प्रतिष्ठानमा आधारित केस स्टडी पनि गर्नेछ, जो उद्यमी, व्यवसायी, बजार अध्येतादेखि परिवर्तनका वाहकसम्म सबैलाई निकै उपयोगी हुनेछ ।’ एपेक्सले पेपरलेस अर्गनाइजेसन बनाइसकेको पनि जनाइएको छ । ‘यसले आफ्नो प्राज्ञिक प्रशासन, परीक्षा, पुस्तकालय, लेखा, वित्तीय प्रबन्ध आदि ईआरपी सोलुसनमार्फत व्यवस्थापन गर्दै आएको छ ।
एपेक्सले हालैको कोभिडका कारण लकडाउन हुँदा जस्तो प्रतिकूल परिस्थिति आउँदासमेत सहज ढंगले कक्षा सञ्चालन गर्न र विद्यार्थीले चाहेका बेला पुनः कक्षा लिन मिल्ने सिस्टम बनाउन चाँडै नै डिजिटल एपेक्स विङ पनि स्थापना गर्दै छ,’ विज्ञप्तिमा भनिएको छ । एपेक्सले विश्वका विख्यात विश्वविद्यालयहरूसँग सहकार्य गरी आफ्ना विद्यार्थीका निम्ति नियमित रूपमा लेक्चर सिरिजसमेत सञ्चालन गर्ने जनाइएको छ । ‘अहिले एपेक्स मुलुकभित्र र बाहिरका विभिन्न प्रतिष्ठित संस्था एवं विभिन्न क्षेत्रमा क्रियाशील ४ हजारभन्दा बढी पूर्वविद्यार्थीको साझा पहिचान बनिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उनीहरू सबैलाई एपेक्स एलुम्नाई एसोसिएसनको बृहत्तर छाताभित्र समेट्ने योजना बनाएका छौं, ताकि त्यो एकअर्काका अनुभव साट्ने र नयाँ कामको थालनी गर्ने एउटा माध्यम बनोस्, नवउत्प्रेरणाको थलो बनोस् ।’
( कान्तिपुर दैनिक )
