Fast Nepal News

डलर कार्डबाट मात्र २३ करोड बाहिरियो

banner single news

काठमाडौँ — २ पुस २०७८

काठमाडौँ , पछिल्लो ८ महिनामा अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट मात्र करिब १९ लाख अमेरिकी डलर (करिब २३ करोड रुपैयाँ) बाहिरिएको छ । यो गत चैतदेखि कात्तिकसम्म नेपालबाट सर्वसाधारणले विद्युतीय कार्डमार्फत डलरमा गरेको भुक्तानी हो । नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न पाउने नीतिगत व्यवस्था भएदेखि गत कात्तिकसम्म कुल १८ लाख ९५ हजार अमेरिकी डलर बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । गत चैतमा राष्ट्र बैंकले उक्त व्यवस्था गरेको थियो । यसबाट मुलुकमा विदेशी मुद्रा भित्रिने राष्ट्र बैंकको दाबी थियो । तर गत कात्तिकसम्म नगण्य परिमाणमा विदेशी मुद्रा भित्रिएको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘खासगरी सूचना प्रविधिसम्बन्धी कामबाट विदेशी मुद्रा भित्रिने अपेक्षा थियो,’ स्रोतले भन्यो, ‘तर निकै थोरै विदेशी मुद्रा आएको भन्ने सुनिएको छ । यही कारण राष्ट्र बैंकले उक्त विवरण सार्वजनिक नगरेको होला ।’ विदेशी मुद्रा नआउने तर बाहिरिने मात्र भएपछि उक्त व्यवस्था पुनर्विचार गर्ने सम्बन्धमा पनि छलफल भएको स्रोतले बताएको छ ।

‘विदेशी मुद्रा सञ्चिति घटिरहेको समयमा कार्डमार्फतको भुक्तानी पनि त्यसको एउटा कारण बनेको छ,’ स्रोतले भन्यो, ‘यसकारण यो व्यवस्था पुनर्विचार गर्नेबारे राष्ट्र बैंकभित्रै कुरा उठेको छ ।’ कोभिडका कारण गत चैततिर अर्थतन्त्र ठप्प भएको समयमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च थियो । त्यही समयमा राष्ट्र बैंकले कार्डमार्फत नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको ह्ो । राष्ट्र बैंकका अनुसार गत चैतदेखि कात्तिकसम्म कुल १८ हजार ३ सय २८ वटा यस्ता कार्ड जारी भएका छन् । ती कार्डमा करिब ४० लाख अमेरिकी डलर भरिएको (लोड भएको) छ । लोड भएकोमध्ये १८ लाख ९५ हजार अमेरिकी डलर भुक्तानी भइसकेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । ‘मासिक रूपमा औसत २ हजार २ सय ९० यस्ता कार्ड जारी भएको देखिन्छ,’ विभाग स्रोतले भन्यो, ‘तिनमा मासिक औसत ५ लाख अमेरिकी डलर लोड भएको र २ लाख ३७ हजार डलर खर्च भएको देखिन्छ ।’ यो अवधिमा सर्वसाधारणले विदेशबाट खरिद गरेका पुस्तक, दैनिक पत्रपत्रिका, खेलौना, सूचना प्रविधि सेवा आदिबापतको भुक्तानी कार्डमार्फत गरेको बताइएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति करिब १ खर्ब ५४ अर्ब रुपैयाँ घटेको छ । यसअनुसार गत कात्तिकमा कुल विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो ११ प्रतिशत घटेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ । गत असारयता हरेक महिना विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । गिरावटको दर पछिल्ला महिनामा बढ्दो छ । यस्तो अवस्थामा विद्युतीय कार्ड मार्फतको भुक्तानी पनि एक कारण भएको जानकारहरूले बताएका छन् । चार महिनासम्मको कुल विदेशी मुद्रा सञ्चितिले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति कायम राख्न कायम गरेको वार्षिक लक्ष्य हाराहारीमा हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।         
Inside Article Ads

राष्ट्र बैंकले गत चैतमा विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउने व्यवस्था गरेको थियो । यसका लागि सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्ने व्यवस्था छ । सोही कार्डमार्फत उनीहरूले विदेशबाट खरिद गरेको सामानको भुक्तानी विदेशी मुद्रामा गर्न सक्नेछन् । यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा तय गरिएको छ । सर्वसाधारणले एकै पटक वा पटकपटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलरबराबरको भुक्तानी मात्र विदेशी मुद्रामा गर्न पाउँछन् । यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिने प्रावधान छ ।

यी कार्डबाट एटीएम कार्डबाट जस्तो नगद निकाल्न भने पाइँदैन । विदेशबाट सामान खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानीका लागि मात्र कार्ड प्रयोग गर्न पाइन्छ । यसअघि नियमित रूपमा डलरको स्रोत भएकाले मात्र बैंकमा अमेरिकी डलर (विदेशी मुद्रा) को खाता खोल्न पाउने व्यवस्था थियो । विद्युतीय कार्डमार्फत वार्षिक ५ सय अमेरिकी डलरसम्म भुक्तानी गर्न सकिने भए पनि सो कारोबारबाट विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिले वार्षिक ५ हजार अमेरिकी डलरसम्मको कारोबार गर्न पाउँछन् । तर उनीहरूले डलरमै नगद निकाल्न भने पाउँदैनन् । यस्तो व्यवस्थाले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न सजिलो भएको सरोकरवालाहरू बताउँछन् । राष्ट्र बैंकले २०७६ माघ १७ देखि सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक भुक्तानी रोकेको थियो ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.