Fast Nepal News

छुट्याइएको बजेट पनि खर्चिन्न रारा

banner single news

मुगु — २ पुस २०७८

मुगु , कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको विकासका लागि आएको बजेट बर्सेनि फ्रिज हुँदा पूर्वाधार विकासको कामले तीव्रता पाउन सकेको छैन । पूर्वाधार विकासका काम नहुँदा पर्यटकको संख्या बढ्न नसकेको हो ।राराको विकासका लागि ५ वर्षयता संघीय र प्रदेश सरकारबाट विनियोजन हुने अधिकांश बजेट फ्रिज गइरहेको छ । गत वर्ष रारामा बृहत् पर्यटकीय सूचना केन्द्र निर्माणका लागि ६० लाख र ताल वारिपारि मचान बनाउन ८० लाख रुपैयाँ बजेट संघीय सरकारले छुट्याएको थियो । उक्त रकम कामै नभई फिर्ता गयो । त्यस्तै रारा तालवरिपरि साइकल रोड बनाउन २०७५, २०७६ र २०७७ मा प्रदेश सरकारले ४ करोड रुपैयाँ विनियोजन गर्‍यो । सबै रकम काम नभएपछि फ्रिज भयो, जसकारण साइकल रोड निर्माण अलपत्र छ । राराको विकासका लागि आउने बजेट फिर्ता जाँदा पर्यटकले सास्ती भोगिरहेको नागरिक अगुवा रुपबहादुर मल्लले बताए । ‘पर्यटकका लागि न राम्रो सडक छ न बस्ने बास नै,’ उनले भने, ‘स्तरीय होटल नहुँदा टेन्ट राखेर पर्यटकलाई भोकभोकै सुताउनुपर्ने बाध्यता छ ।’ राराको विकासका लागि गुरुयोजना बनाइएको भए पनि सोहीअनुसार काम नहुँदा पर्यटकलाई आकर्षित गर्न नसकिएको उनको भनाइ छ ।

रारा विकासका लागि हरेक वर्ष पर्यटन बोर्डले समेत १५ देखि २० लाख रुपैयाँ बजेट छुट्याइरहेको छ । उक्त रकम पनि बर्सेनि फिर्ता जाने गरेको मुर्मागाउँका बिर्खबहादुर रोकायाले बताए । ‘पहिला पनि आएको रकम काम नभई फिर्ता जाने समस्या थियो,’ उनले भने, ‘संघीय सरकार आएपछि सबै बजेट फिर्ता भएको भयै छ, यस्तो अवस्थामा कसरी हुन्छ पूर्वाधार विकास ?’ ३ वर्षयता राराको विकासका लागि आएको झन्डै ७ करोड बजेट विभिन्न कारणले फिर्ता गएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । ‘पूर्वाधार विकासका लागि आएको बजेट सदुपयोग भएको भए पर्यटकका लागि आधारभूत आवश्यकता पूरा गर्न सकिन्थ्यो,’ उनले भने, ‘३ वर्षयता पूर्वाधार विकासको काम शून्यप्रायः छ ।’ गुरुयोजनाबिनै जथाभावी रकम विनियोजन हुनु, कामका लागि पर्याप्त बजेट विनियोजन नहुनु, बजेट भए पनि ढिलो गरी आर्थिक वर्षको अन्तिम समयमा अख्तियारी आउनुलगायत कारण बजेट फ्रिज जाने गरेको उनको भनाइ छ । केही योजनामा ठेकेदार र उपभोक्ता समितिले काम नगर्दा पनि बजेट फ्रिज गइरहेको उनले बताए ।

गत वर्ष रारामा साइकल रोड निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको थियो । तर ठेकेदार कम्पनी शंकर/मालिका निर्माण सेवाको लापरबाहीका एक किमि मात्र चक्रपथ निर्माण सकियो । होमस्टे निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २५ लाख रुपैयाँ छुट्याए पनि काम हुन सकेन । गत वर्षको बजेटबाट भने दुई स्थानमा होमस्टे निर्माण गरिएको वन डिभिजन प्रमुख भरत बुढाथापाले जानकारी दिए ।

पालिकाले पनि राराको प्रवर्द्धनका लागि छुट्याउने रकम पनि फ्रिज जाने गरेको छ । गत वर्ष छायानाथरारा नगरपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी ‘रारा जाऔं’ अभियान चलायो । तर कोरोना महामारी देखाउँदै कार्यक्रमका लागि छुट्याइएको १० लाख रुपैयाँको कामै हुन सकेन । अघिल्लो वर्ष नगरपालिकाले सल्लेरीमा गाडी पार्किङस्थल बनाउन ५ लाख रुपैयाँ विनियोजन गरिए पनि अझै काम अलपत्र छ । सरकारी निकायहरूको रकम बर्सेनि फ्रिज गए पनि निजी क्षेत्रको लगानी भने बढिरहेको छ । रारा भिलेज रिसोर्ट कम्पनीले २० करोड रुपैयाँ लगानीमा सल्लेरी र मुर्माकोटमा ३० कोठा भएको सुविधायुक्त रिसोर्ट बनाइरहेको छ । रिसोर्ट निर्माणका लागि जग्गा खरिद गरी निर्माणको काम सुरु गरिए पनि कोरोना महामारीका कारण समस्या भएको कम्पनीका अध्यक्ष अनुपविक्रम शाहले बताए । दैनिक ३ सय पर्यटक अट्ने क्षमताका दुई रिसोर्ट निर्माणको काम अघि सारिएको उनले जनाए ।

Inside Article Ads

सडकमा ४० करोड

रारा आउने मुख्य पर्यटकीय मार्ग गमगढी–नाग्मा सडकको सुधारका लागि चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटले नाग्मादेखि गमगढीसम्म सडकको डबल कटिङ गरी ग्राभेल गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । यो वर्ष सडक ग्राभेल भए अर्को वर्षदेखि कालोपत्रेको काम सुरु हुने डिभिजन कार्यालयका इन्जिनियर राजीव श्रेष्ठले बताए । ‘सडककै कारण पर्यटकले वर्षौंदेखि सास्ती भोगिरहेका छन्,’ उनले भने, ‘सडकको स्तरोन्नति भए यहाँ आउने पर्यटकको लर्को लाग्छ ।’

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.