
काठमाडौँ — १ पुस २०७८
काठमाडौँ , कोरोना महामारीका कारण सबैभन्दा धेरै असर पुग्ने व्यवसायमध्ये एक हो, पार्टी प्यालेस । भीडभाड हुने भएकाले संक्रमण बढ्न सक्ने त्रासका कारण पछिल्लो डेढ वर्षभन्दा धेरै समय यो व्यवसाय ठप्पजस्तै बन्यो । गत भदौबाट फाटफुट सञ्चालनमा आएका पार्टी प्यालेस अब भने तंग्रिँदै छन् । महामारीको दोस्रो लहर थामिँदै जानु र मंसिर लागेसँगै विवाह, व्रतबन्ध बढ्नुले पार्टी प्यालेसको व्यस्तता बढेको हो । ठूला पार्टीका महाधिवेशनले यसमा झन् बल मिलेको छ । पार्टीको गुटगत भेला गर्न ठूलो ठाउँ चाहिने भएकाले वडादेखि केन्द्रसम्म त्यसको उत्तम विकल्प पार्टी प्यालेस बनेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको काठमाडौंको भृकुटीमण्डपमा २ पार्टी प्यालेसले संयुक्त क्याटरिङ राखेर खाना खुवाउँदै आएका छन् । अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेसले मंसिर २४ को बेलुकाबाट दैनिक ५ हजार जनाभन्दा बढीलाई खाजा–खाना खुवाउँदै आएका छन् । जसका लागि २ सय ५० जना कामदार खटिरहेका छन् । अहिले व्यवसाय चलायमान भएजस्तो भएको अनुपम फुडल्यान्डका प्रबन्ध निर्देशक माधव रिजाल बताउँछन् ।
‘हाम्रो त लगन बेस बिजनेस हो,’ उनले भने, ‘व्यवसाय पहिलाकै अवस्थामा भने आइसकेको छैन । अवस्था सहज भएर व्यवसाय चलाउन पाए समस्या हुने थिएन ।’ उनका अनुसार अहिले भइरहेका पार्टीका ठूला कार्यक्रमले सुस्ताएको व्यवसायलाई जगाउने काम गरेको छ । ‘त्यसै बस्नुभन्दा यसरी क्याटरिङ चलाउन पाउनु पनि राम्रो हो,’ उनले भने, ‘कांग्रेस महाधिवेशनकै लागि मंगलबार बेलुकासम्म खाना खुवाउने जिम्मा पाएका हौं । १२ सय रुपैयाँका दरले प्रतिदिन प्रतिव्यक्ति खाजासहित तीन छाक खाना खुवायौं । अहिलेसम्म खाजा–खानाको ४ करोड रुपैयाँ बढीको बिल भएको छ ।’ महाधिवेशन स्थलमा क्याटरिङ चलिरहँदा यता अनुपमकै पार्टी प्यालेसमा भने १८ वटा विवाहका कार्यक्रम भए । यसबाहेक साना रेस्टुरेन्टदेखि ठूला पाँचतारे होटलसम्ममा पनि महाधिवेशनले चहलपहल बढायो । भृकुटीमण्डप र आसपासका सबै सानाठूला होटल र रेस्टुरेन्ट सञ्चालकलाई भ्याइनभ्याइ थियो ।
यसअघि मंसिर १०–१२ सम्म चितवनमा भएको एमालेको दसौं महाधिवेशनले पनि त्यहाँको होटल व्यवसाय चलायमान बन्यो । उद्घाटन नारायणी किनारमा भए पनि बन्दसत्र र आवासको प्रबन्ध सौराहामा मिलाइएको थियो । कोरोना महामारी सुरु भएपछिकै ठूलो कार्यक्रम भएकाले स्थानीय व्यवसायीलाई उत्साह थपिदियो । सौराहामा रहेका १ सय २० होटल पूरै भरिए । टाँडी, नारायणगढका होटलमा पनि नेता–कार्यकर्ताको बसोबास रह्यो । बन्दसत्र चलेको सौराहास्थित होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले सुस्ताएको सौराहाको पर्यटन व्यवसाय चलायमान बनेको प्रतिक्रिया दिए । ‘एमाले महाधिवेशनपछि सौराहामा यति ठूलो कार्यक्रम गर्न सकिँदो रै’छ भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘कोरोना संक्रमण थामिएपछि भएको कार्यक्रमले प्रचारप्रसार पनि राम्रै भयो ।’ उनले होटल परिसरमा मेस राखेर दैनिक ४ हजार जनाभन्दा बढीलाई खाना–खाजाको व्यवस्था गरे । सबै गरेर ६ छाक खाना खुवाएको उनले सुनाए ।
‘माघ, फागुनमा पनि यस्तै काम गर्न पाइयो भने ठूलै राहत मिल्नेछ,’ उनले भने, ‘बल्ल भाडा तिर्न सक्ने आँट आएको छ ।’ तीनकुनेमा सञ्चालित ताज ब्यांक्वेटको १० महिनादेखिको भाडा अझै तिर्न नसकेको उनले सुनाए । ‘महिनाको २ लाख २५ हजार रुपैयाँ त भाडा मात्रै तिर्नुपर्छ । अरू खर्चको त कुरै नगरौं,’ उनले भने, ‘अब विस्तारै व्यवसाय चल्दै छ, भाडा पनि तिर्दै लग्नेछौं ।’ उनको जस्तै समस्या अन्य व्यवसायीको पनि छ । महासंघका अनुसार देशभर यो व्यवसायमा लगानी मात्रै १६ अर्ब रुपैयाँभन्दा बढीको छ । ‘अब भने व्यवसाय फस्टाउने आशा पलाएको छ,’ उनले भने, ‘त्यसैले सबै व्यवसायीमा मेरो अनुरोध, खाने कुरा सफा र गुणस्तरीय खुवाउनुस् । पाएँ भन्दैमा धेरै काम लिएर आफ्नो गुणस्तर नखस्क्याउनुस् । एउटाले गल्ती गर्दा दोष सबै व्यवसायीमाथि आइपुग्छ ।’ उनले किसानले उत्पादनमा उचित मूल्य नपाएको भन्दै बिचौलियाबाट जोगिने गरी किसानकै बारीमा पुगेर तरकारी ल्याउने योजना बनाइरहेको बताए । होटल तथा पार्टी प्यालेसमा माछा, मासु, तरकारी, दूध, घिउ, दहीलगायत खाद्यवस्तु धेरै खपत हुन्छ ।
( कान्तिपुर दैनिक )
