
काठमाडौँ — २७ मंसिर २०७८
काठमाडौँ , बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले बताएका छन् । पुसमा बैंकहरूले निक्षेपको ब्याजदर नबढाए पनि कात्तिक र मंसिरमा बढिसकेको छ । यसले आधार दर बढ्ने भएकाले आउँदो माघदेखि कर्जाको ब्याजदर कम्तीमा १ प्रतिशत बिन्दुले बढ्ने बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालको भनाइ छ । ‘बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर बढाए माघदेखि कर्जाको ब्याजदर एक प्रतिशतभन्दा धेरै बढ्ने निश्चित छ,’ उनले भने, ‘पुसमा पनि मंसिर सरर नै निक्षेपको ब्याजदर कायम रहे पनि औसतमा एक प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर बढ्न सक्छ ।’ माघपछि कर्जाको ब्याजदर एकल अंकबाट माथि जाने पनि दाहालले बताए । ‘हिजोआज बैंकहरूद्वारा प्रवाह भइरहेको नयाँ कर्जाको ब्याजदर दोहोरो अंकमा रहेको हुनुपर्छ । अब बढ्दा झन् माथि पुग्छ,’ उनले थपे, ‘यस अवधिमा सरकारी खर्च धेरै भयो र बजारमा तरलता पर्याप्त भएको अवस्थामा भने अनुमान गरिएअनुसार कर्जाको ब्याजदर नबढ्न सक्छ ।’
गत असोजमा राष्ट्र बैंकले बैंकहरूलाई अघिल्लो महिनाको तुलनामा १० प्रतिशत बिन्दुले मात्र ब्याजदर बढाउन पाउने निर्देशन दिएको थियो । कात्तिकमा त्यसमा परिमार्जन गरेर अघिल्लो महिनामा आफ्नो वर्गका सबै वित्तीय संस्थाको औसत ब्याजदरका आधारमा १० प्रतिशत बिन्दुले मात्र ब्याजदर बढाउन पाउने व्यवस्था ल्याएको छ । उक्त व्यवस्थापछि घुमाउरो पाराले राष्ट्र बैंकले निक्षेपको ब्याजदर तोकिदिएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ब्याजदर बढाएका छैनन् भने आफूहरूबीचमा पनि सहमतिका आधारमा ब्याजदर प्रकाशन गरिरहेका छन् ।
नेप्से ११ महिनायताकै न्यून बिन्दुमा
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ८८.७० अंक घटेर २ हजार ३ सय २१.२७ बिन्दुमा ओर्लिएको छ । यो करिब ११ महिनायताकै न्यून हो । यसअघि २०७७ माघ ७ मा नेप्से परिसूचक २ हजार ३ सय ६१.६९ बिन्दुमा थियो । त्यसपछि बढ्न थालेको नेप्से गत भदौमा करिब ३ हजार २ सयको उच्च बिन्दुमा पुगेको थियो । त्यहाँबाट फर्किन थालेको नेप्से आइतबार २४ सयभन्दा तल ओर्लिएको हो । उक्त दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले घटेपछि समग्र नेप्से भारी अंकमा घटेको हो । पछिल्ला दिनमा निरन्तर घटेको सेयर बजारमा आइतबार पनि भारी अंकको गिरावट आएको हो । बजारमा तरलता संकट बढिरहेको, सरकारी खर्च अपेक्षित रुपमा नभएकाले तत्काल सेयर बजार बढिहाल्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । सेयर बजारमा नेप्से परिसूचकमा भारी गिरावट आएपछि कारोबार रकममा अघिल्लो दिनको तुलनामा केही सुधार भएको छ । आइतबार बजारमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजार निरन्तर घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्तालाई ‘मार्जिन कल’ आउन थालेको छ । न्यूनतम ‘मार्जिन’ कायम गर्नकै लागि पनि लगानीकर्ताले सेयर बाध्य भएर सेयर विक्री गर्न थालेका छन् । यसले बजारमा सेयरको बिक्री चाप बढाएको ब्रोकरहरूले बताएका छन् ।
परिसूचक घटेपछि सयेर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३३ खर्ब १९ अर्ब रुपैयाँ कायम भएको छ । गत बिहीबार कुल बजार पुँजीकरण ३४ खर्ब ४४ अर्ब रुपैयाँ थियो । सेयर बजारको लगानी अनुत्पादनक रहेको नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । यसले पनि आइतबार सेयर बजार प्रभावित भएको रुपमा विश्लेषण गरिएको छ । शनिबार प्रदेशहरूको सम्मेलनको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो धारणा राखेका हुन् । विगतमा पुँजीको लगानी उद्योगहरूमा हुन्थ्यो । त्यहाँबाट आएको नाफा पुँजीपति वर्गले लिने गर्थे । अहिले त्यसको संरचना परिवर्तन भएर सेयर बजार र अन्य सट्टाबाजी वित्तीय उपकरणहरूमा लगानी भइरहेको उनले बताए । ‘तपाईं हामीलाई लाग्न सक्छ, धितोपत्र बजार, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंकलगायत संघसंस्था पैसा यताउता गर्छन् । यथार्थमा त्यसो होइन । यी साम्राज्यवादका विकसित रूप हुन्,’ दाहालले भने, ‘तिनका उद्देश्य भनेकै वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, विस्तार गर्ने र नाफा एकीकृत गर्ने र संसारका सीमिति पुँजीपतिका हातमा संसारकै धन एकीकृत गर्ने हो ।’
( कान्तिपुर दैनिक )
