Fast Nepal News

चीनको बेवास्ताले रोकियो चक्रपथ विस्तार

banner single news

काठमाडौँ — ६ मंसिर २०७८

काठमाडौँ , चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्ड विस्तारको प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाउँदा काम रोकिएको छ । चक्रपथ विस्तार सुरु गरेको तीन वर्षमा यस खण्डमा खासै प्रगति भएको छैन । नेपाल सरकारका तर्फबाट अघि बढाउनुपर्ने काम भने सबै भइसकेको चक्रपथ विस्तार आयोजनाका प्रमुख कुवेर नेपालीको दाबी छ । चिनियाँ टोलीले प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाएको र आएर काम सुरु पनि नगरेकाले थप अन्योल भएको उनको भनाइ छ । ‘एक महिनाअघि चिनियाँ टोलीले साइट क्लियर छ/छैन भनेर सोधेको थियो । हामीले सबैतिर क्लियर छ भन्ने जवाफ पठाइसकेका छौं,’ नेपालीले भने, ‘केही भागमा समस्या थियो, ती खण्डको काम पछि नेपाल सरकार आफैंले बनाउँछ । चिनियाँ टोलीले प्रारम्भिक इन्जिनियरिङ डिजाइन पठाइदिए डिटेल डिजाइनका बेला के–के थप गर्न सकिन्छ भन्नेमा हामी लाग्थ्यौं ।’ महाराजगन्जमा मुआब्जा बढी तिर्नुपर्ने र स्वयम्भूमा स्तूप भत्काउनुपर्ने अवस्था आएपछि समस्या देखिएको हो । यसबाहेकका क्षेत्रमा समस्या नभएको उनको भनाइ छ । साइट क्लियर भएपछि मात्र आउने अडान चिनियाँ टोलीले लिएको छ । ‘तर अब टोलीलाई आएर काम गर्न कुनै समस्या छैन,’ उनले भने ।

साइटबारे थप अपडेट चाहिए जानकारी गराउन तयार छौं भनी परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासमा जानकारी गराइसकेको उनले जानकारी दिए । सडक विभागले रूख काट्ने, पर्खाल हटाउने, खानेपानीको पाइप व्यवस्थापनलगायत सबै काम सकिएको जनाएको छ । स्वयम्भूको स्तूप भएको ४०/५० मिटर ठाउँमा समस्या छ । बढी समस्या महाराजगन्जको २६५ मिटर क्षेत्रमा छ । यस खण्डमा पर्ने १९ घर सडक विभागले अझै भत्काउन सकेको छैन । ‘महाराजगन्जको अवरोध तत्काल टुंगिने अवस्था छैन, यसलाई कार्यक्षेत्रबाट हटाएर काम अघि बढाउने तयारी भएको छ,’ नेपालीले भने, ‘यस खण्डको काम पछि नेपाल सरकार आफैंले गर्छ ।’ यत्ति समस्याले काम रोक्नु नपर्ने र अन्य क्षेत्रमा काम गर्न चिनियाँ टोलीलाई भनिसकिएको उनको भनाइ छ । स्वयम्भूको स्तूपमा पनि समस्या नहुने र त्यहाँ सरकार आफैंले बनाउने सर्भिस ट्र्याकभित्र पर्ने आयोजनाले जनाएको छ ।

Inside Article Ads

रूख कटान भएको लामो समयसम्म पनि विस्तारको काम अघि नबढ्दा योजना रोकिएको हो कि भन्ने आशंका सर्वसाधारणमा परेको छ तर समझदारीपत्र (एमओयू) मा शतप्रतिशत साइट क्लियर हुनुपर्ने उल्लेख रहेकाले चिनियाँ पक्ष त्यसकै पर्खाइमा रहेको बुझिएको छ । चक्रपथ पहिलो खण्ड विस्तारका क्रममा संरचना नहटाई काम थाल्दा ढिलासुस्ती भएपछि यसपटक चिनियाँ टोलीले यस्तो अडान लिएको हो । ‘पहिलो खण्डको डिजाइनमा पर्याप्त छलफल भएन, जसले गर्दा कोटेश्वर–कलंकी खण्डमा डिजाइनको अध्ययन नहुँदा दुर्घटना बढी भयो कि भन्ने प्रश्न पनि उठेका थिए,’ प्रमुख नेपालीले भने, ‘त्यसैले पहिला प्रारम्भिक डिजाइन दिए त्यसमा छलफल गरेर त्रुटि सच्याउन सकिने थियो ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत साइटमा समस्या नरहेको जनाउँदै चिनियाँ दूतावासमार्फत टोलीलाई पत्राचार गर्न लगाएको थियो । टोली आए ठेक्का जाने गरी डिटेल डिजाइनको काम अघि बढ्नेछ । त्यसो त रूख कटान, भौतिक संरचना पन्छाउन, खानेपानी पाइपलाइन व्यवस्थापन र विद्युत्, टेलिकमका पोल हटाउन (साइट क्लियर) थालेकै तीन वर्ष भइसकेको छ । कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको ११.६ किलोमिटर सडक चीनको अनुदान सहयोगमा विस्तार हुन लागेको हो । यसअघि चिनियाँ सहयोगमा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भइसकेको छ । जसको दूरी १०.३९ किमि छ ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.