Fast Nepal News

बिजुली सहज गराउन घिसिङ नै औद्योगिक क्षेत्रमा

banner single news

रूपन्देही — ३० कात्तिक २०७८

रूपन्देही , नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीलाई प्राथमिकतामा राखेर प्रसारण लाइन र विद्युत् सबस्टेसन निर्माण तीव्र पार्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न आयोजना अनुगमन गरेका घिसिङले परासीदेखि भैरहवासम्मका औद्योगिक करिडोर क्षेत्रका उद्योगलाई बिजुली उपलब्ध गराउने गरी निर्माण भइरहेका प्रसारण लाइन र सुनवलको सब–स्टेसन निर्माण तीव्र पार्न निर्देशन दिएका हुन् । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योग परिसरमा शनिबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत  करिडोरअन्तर्गतका झन्डै एक दर्जन उद्योगलाई मागअनुसार बिजुली दिने गरी सुनवलमा १४८ केभीए प्रसारण लाइनको सब–स्टेसन बनिरहेको छ । एनर्जी प्याक सिग्नापन जेभी कम्पनीले निर्माण गरिरहेको सब–स्टेसनको काम ढिलो भएको र आगामी मार्चभित्र निर्माण नसकिए निर्माण व्यवसायीलाई कारबाही गरिने पनि बताए ।

अहिलेसम्म सब–स्टेसनको ३० प्रतिशत काम सकिएको विद्युत् प्राधिकरणका निर्देशक दुर्गानन्द बरियतले बताए । कन्ट्रोल भवन ढलाइ भइसकेको छ । लाइनका लागि फाउन्डेसन तयार भइरहेको उनको भनाइ छ । ‘मार्चसम्म जसरी पनि निर्माण सक्ने गरी काम गर्न निर्देशन भएको छ,’ उनले भने । उपकरणहरू आउन थालेकाले अब कामको प्रगति छिटो देखिने उनको भनाइ छ । सब–स्टेसन अभावले करिडोर क्षेत्रका लक्ष्मी स्टिल्स, पाल्पा र सर्वोत्तम सिमेन्टले मागअनुसार बिजुली पाएका छैनन् । लक्ष्मी स्टिल्सले ३० एमभीए विद्युत् माग गरिरहेको छ । प्राधिकरणले ७ एमभीए मात्र दिएको छ । पाल्पा सिमेन्टले भने १२ दशमलव ५ एमभीए लाइन माग गरेकामा ५ एमभीए मात्र पाएको छ । सर्वोत्तमले पनि ३० एमभीए माग गरेकामा ८ एमभीएले काम चलाइरहेको छ । सुनवल सब–स्टेसनसँगै घिसिङले कपिलवस्तुमा निर्माणाधीन १३२/३३ केभी सब–स्टेसन र प्रसारण लाइनको पनि अवलोकन गरे । प्राधिकरणले कपिलवस्तुको मोतीपुर, अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको पौंदी अमराई हुँदै बागलुङको बुर्तिबाङसम्म जोड्ने गरी चार स्थानमा सब–स्टेसन र प्रसारण लाइन विस्तार गरिरहेको छ ।  
कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्कमा सब–स्टेसन निर्माण भइरहेको विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले जानकारी दिए । यस क्षेत्रका उद्योगीले मागेअनुसार विद्युत् नपाएको गुनासो गरेकाले पनि निर्माणाधीन सब–स्टेसनहरूको अनुगमन गरिएको उनको भनाइ छ ।  ‘धेरै उद्योगले क्षमता वृद्धिका लागि विद्युत् माग गरिरहेका छन्,’ उनले भने, ‘सब–स्टेसन अभावमा उद्योगीको मागअनुसारको विद्युत् आपूर्ति हुन सकेको छैन ।’ प्राधिकरणले अहिले बुटवलदेखि सुनवलसम्म पूर्व–पश्चिम राजमार्गको छेउबाट प्रसारण लाइन विस्तार गरिरहेको छ । सडक पनि विस्तारका क्रममा रहेकाले प्रसारण लाइन विस्तारमा समस्या भइरहेको उनले बताए । प्राधिकरणले बुटवलदेखि सुनवलसम्म १ सय २० पोल गाडेको छ । थप २ सय पोल गाडेर लाइन विस्तार गरेपछि उद्योगीलाई क्षमता वृद्धिका लागि पहिलो चरणको लाइन उपलब्ध गराउन सकिने उनले बताए । गण्डकी प्रदेशको सर्दीमा रहेको होङ्सी सिमेन्टलाई माग गरेको तीन वर्षपछि ३७ मेगावाट विद्युत् उपलब्ध गराइएको छ ।
नेपालकै ठूलो सिमेन्ट उद्योग दाबी गरिरहेको होङ्सीले विद्युत् अभावमा जेनेरेटरमार्फत उद्योग चलाइरहेको थियो । उद्योगका लागि बर्दघाटदेखि सर्दीसम्मको १३२ केभी प्रसारण लाइन तयार भएपछि शनिबारदेखि विद्युत् उपलब्ध भएको ओझाले बताए । कम्पनीले आइतबारदेखि नै विद्युत्मार्फत सिमेन्ट उत्पादन सुरु गरेको बताएको छ । नवलपरासीको लक्ष्मी स्टिल्सले आफैंले सब–स्टेसन निर्माण गर्ने गरी विद्युत् माग गरिरहेको छ । उद्योगी आफैंले सब–स्टेसन निर्माण गर्ने र त्यहीँबाटै विद्युत् दिने नीति प्राधिकरणले ल्याएपछि धेरै उद्योगी उत्साहित भएको स्टिल्स कम्पनीका निर्देशक शशि न्यौपानेले बताए । ‘अहिलेसम्म त्यस्तो नीति पनि थिएन, हामीले माग गरेअनुसारको बिजुली पनि पाएका छैनौं,’ उनले भने, ‘अहिले कुलमान घिसिङ उद्योगमै पुगेर अनुगमन गरेपछि सकारात्मक भएर सब–स्टेसन निर्माण गर्न निर्देशन दिनुभएको छ । त्यसले हामी उत्साहित छौं ।’ उनले लक्ष्मी स्टिल्सले २० करोड लगानी गरेर आफैं १३२ केभीएको सब–स्टेसन निर्माण थालेको उनको भनाइ छ । आफ्नै सब–स्टेसन भएपछि उद्योगी विद्युत् ट्रिपिङको समस्याबाट पनि मुक्त हुने उनले बताए ।     
Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.