Fast Nepal News

३४ वर्षदेखि अलपत्र सिँचाइ योजना

banner single news

प्यूठान —  १७ कात्तिक २०७८

प्यूठान , तीन दशकअघि यहाँ सुरु भएको लुंग्रीमाडी सिँचाइ आयोजना अलपत्र परेको छ । २०४४ सालमा आयोजना सुरु भएको हो । १२ किलोमिटर लामो यो आयोजना अहिले जीर्ण बनिरहेको छ । आयोजना निर्माण गर्न अहिलेसम्म करोडौं रकम खर्च भइसकेको छ । ‘अहिलेसम्म नहरमा पानी देख्न पाएका छैनौं,’ स्वर्गद्वारी नगरपालिका–५ सारीका बुद्धिराम भण्डारीले भने, ‘सिँचाइ नहुँदा खेत बाँझै राख्नु परेको छ ।’ लगातार चार वर्षदेखि बाँझिएको खेत यस वर्ष आकाशबाट पानी परेकाले रोपाइँ गरेको उनले बताए ।

उनका अनुसार सिँचाइ अभाव हुँदा यहाँको हजारौं हेक्टर जमिन बाँझिएको छ । ‘२०४४ सालबाट सुरु भएको आयोजना बहुदल आएपछि ओझेलमा पर्‍यो,’ उनले भने, ‘पछि माओवादीका पालामा पनि अवरोध भयो, त्यपछि अल्झेको अल्झै छ ।’ २०६२ सालबाट आयोजना निर्माणले गति लिए पनि अहिलेसम्म निर्माण सम्पन्न भएको छैन । १२ किलोमिटर लामो यो आयोजनाले स्वर्गद्वारी नगरपालिकाको सारी, बेलबास र बर्जीवाङलगायत क्षेत्रका किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । ‘२०७४ सालमा नहरमा पानी छाड्ने भनेपछि नहर सफा गर्न गाउँका सबै गयौं तर चुनाव प्रचारका लागि मात्रै कुरा चलाइएको रहेछ,’ स्थानीय श्यामलाल रेग्मीले भने, ‘चुनाव प्रचार र भोटका लागि निर्वाचनका समयमा यो आयोजनाको कुरा उठ्ने गरेको छ ।

Inside Article Ads

तर अहिलेसम्म कसैले पानी खसालेका छैनन् ।’ नियमित मर्मत–सम्भार पनि अहिले बन्द भएको छ । आयोजना निर्माणमा हालसम्म १३ करोड रुपैयाँ खर्च भइसकेको छ । गत वर्ष आयोजना निर्माण गर्ने वा रोक्ने विषयमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सर्वे गरेको थियो । तर अहिलेसम्म जिल्लामा त्यसको रिपोर्ट प्राप्त नभएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्यूठानका इन्जिनियर नवराज पोख्रेलले बताए । ‘प्रदेशबाट कुनै निर्देशन र रिपोर्ट आएको छैन,’ उनले भने, ‘अहिले आयोजनाको विषयमा केही भन्न सक्ने अवस्था छैन ।’ महालेखा परीक्षकको कार्यालयले लुंग्रीमाडीका विषयमा हरेक वर्ष टिप्पणी उठाए पनि थप काम नभएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्यूठानका लेखापाल खिमबहादुर अधिकारीले जानकारी दिए ।   

( कान्तिपुर दैनिक )

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.