
काठमाडौँ — १७ कात्तिक २०७८
काठमाडौँ , नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो । ‘यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्छ्योट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो,’ बैंकद्वारा जारी सूचनामा भनिएको छ ।
राष्ट्र बैैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फर्छ्योट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो । ‘भुक्तानी तथा फर्छ्योट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो,’ उनले भने ।
( कान्तिपुर दैनिक )
