
पर्सा — १५ कात्तिक २०७८
पर्सा ,. वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बीचको जग्गाका ५३ जग्गाधनीले १ अर्ब ५० करोड रुपैयाँ मुआब्जा बुझेका छन् । हालसम्म ७२ कित्ता जग्गाका ५३ जग्गाधनीले करिब १७ बिघा जग्गाको मुआब्जा लिइसकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘अर्थ मन्त्रालयबाट निकासा भएर आएको मुआब्जा रकममध्ये पहिलो चरणमा स्थानीय किसानले १ अर्ब ५० करोड रुपैयाँ मुआब्जा बुझेका हुन्,’ उनले भने, ‘अब बाँकी करिब ३ सय किसानले झन्डै ४ अर्ब रुपैयाँ मुआब्जा लिन बाँकी छ । अर्थ मन्त्रालयमा फाइल पुगेको छ । रकम निकासा भएर आएपछि वितरण हुन्छ ।’ जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीयले मुआब्जा लिइरहेका छन् । वीरगन्ज महानगरपालिका–२५ मा पर्ने सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँचचौकीबीचको जग्गा अधिग्रहण प्रक्रिया सरकारले करिब ५ वर्षअघि सुरु गरेको हो ।
( कान्तिपुर दैनिक )
