
काठमाडौँ — ११ भाद्र २०७८
दस महिनासम्म ऋणात्मक रहेको शोधनान्तर स्थिति र निरन्तर घटेको विदेशी लगानीमा गत आर्थिक वर्षको अन्त्यमा सामान्य सुधार देखिएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । यसअनुसार गत आर्थिक वर्षको १० महिना निरन्तर घटेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तिम महिनामा सामान्य बढेको छ । गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानी ०.२ प्रतिशत मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । विदेशी लगानीको प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरेका छन् । संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको उनीहरूको भनाइ छ ।
कोभिडको असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंकले जनाएको छ । कोभिडको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनको दाबी छ ।तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोधकै मुख्य कारण भएको जानकारहरूको भनाइ छ । लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको उनीहरूको तर्क छ । २०७६/७७ का सबै महिनामा विदेशी लगानी उच्च दरले बढेको थियो । तर गत आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । यसअनुसार २०७७ साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । असोजदेखि गत जेठसम्म घटिरहेको विदेशी लगानी अन्तिम महिनामा झिनो सुधार भएको हो ।
यसअनुसार गत असोजमा विदेशी लगानी २६.८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७.२, माघमा ३७.३, फागुनमा ३४.८, चैतमा २५, वैशाखमा १९.२ र जेठमा १३.४ प्रतिशत घटेको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने सूचक शोधनान्तर गत आर्थिक वर्षमा १ अर्ब २३ करोड बचतमा छ । अघिल्लो आर्थिक वर्ष शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड बचतमा थियो । त्यसपछिका २२ महिनासम्म बचतमा रहेको शोधनान्तर गत जेठमा ऋणात्मक बनेको थियो । तर आर्थिक वर्षको अन्त्यमा फेरि सुधारिएको प्रतिवेदनले देखाएको छ ।
घट्यो विदेशी विनिमय सञ्चिति
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ छ । अघिल्लो असारको तुलनामा यो ०.२ प्रतिशत कम हो । गत असारमा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ थियो । विदेशी विनिमय सञ्चितिले करिब १० महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकको दाबी छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २१.४ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशत बढेको थियो । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.७ प्रतिशत छ । २०७७ असारमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत थियो ।गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२ प्रतिशत बढेको थियो । ‘निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २७.८ र विकास बैंकको कर्जा प्रवाह ३०.५ प्रतिशत बढेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.३ प्रतिशत घटेको छ,’ राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा भनिएको छ ।
आधार दर घट्यो
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) घटेको छ । यसअनुसार गत आर्थिक वर्षको अन्त्यमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.८६ प्रतिशत छ । २०७७ असारमा यस्तो दर ८.५० प्रतिशत थियो । बैंकहरूका आधार दरमा कमी आए पनि बैंक तथा वित्तीय संस्थाले भने कर्जा र निक्षेप दुवैको ब्याजदर बढाउन थालेका छन् ।
( कान्तिपुर दैनिक )
