डा. बमबहादुर थापा ‘जिताली’
आलोक नै छ मनको सुख–शान्ति शेष
आलोक खै त ? युगको सुकिलो विशेष !
ओझेलमा छ कविको छवि, देश, भेष
खै ती वसन्ततिलका कविता अशेष ??
फक्रन्छ फूल पनि जो वन कन्दरामा
कक्रन्छ झर्छ अनि त्यो किन टाकुरामा ?
जल्ले जहाँ अवधि माफिक बस्नुपर्छ
मानो भरेर चुलिए पछि खस्नुपर्छ ।।
आदर्श शासनविना अडिँदैन सत्ता
पौरस्त्य शासन हुँदा छरिएन भत्ता ।
जो रामराज्य चिरकाल थियो बिलायो
विराम राज्य सुरियो, मदिरा पिलायो ।।
छन् लाल नेत्र जसका जहरी चमक्क
झन् बल्छ दीप दिलमा उसको धपक्क ।
भट्टी बन्यो र उसले मदिरा चखायो
खाँदा सबै मुलुक नै कसरी चपायो ??
नेपाल सौम्य धरणी कति माफ गछ्र्यौ ?
छाती चरक्क चिरिँदा नि कठै ! ठहछ्र्यौ ।
आक्रान्त छन् कति जना परलोकबाट
विश्राममा रहरिला लुटिए ललाट ।।
आदर्शमा अघि बढे नव भाग्य जाग्छन्
अल्छी र बाँदर भए सब दूर भाग्छन् ।
खाएर पेट भरिए पछि भात लाग्छ
सत्ता–सुरा त नपिए पनि मात लाग्छ ।।
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ