Fast Nepal News

अधिपति भए ( छन्द:- हंसी ) कविता

- डा. बम बहादुर थापा (जिताली)

banner single news

आयो मौका छलकपटमा
खायो लौका झट र पटमा।
खोते थापी दिनहुँ झगडा
खाने लाने छ अति तगडा।।

गर्छन् घाती सहमति सधैं
गाईजात्रा गतिविधि सधैं।
दायाँ बायाँ जनधन चुसे
आलोपालो सकभर लुछे।।

मौका छोपी मति-विमतिमा
खाँदा मात्रै मिलन-मतिमा।
तानातानी तुजुक भरिलो
यस्तो चाला छ त रहरिलो?

जानाजानी जन पर भए
हानाहानी पनि हुन गए।
हाकाहाकी लिन दिन हुने
यस्तो चाला अगिपछि हुने।।

Inside Article Ads

वैलेका छन् सृजन जुटमा
फैलेका छन् लुट र फुटमा।
फैलाएका प्रतिनिधि भए
पढ्ने लेख्ने दिन पनि गए।।

सेता भाले भुटन पकुवा
काला भाले मुलुक घिचुवा।
भन्छन् कोही हतपत मिलूँ
मिल्दामिल्दै झटपट निलूँ।।

जाग्यो बेला दिनहुँ भयको
भाग्यो बेला सृजनमयको।
सच्चा नेता प्रतिनिधि गए
कच्चा नेता अधिपति भए।।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.