डायमण्ड जोशी,
भाद्र २८, काठमाडौं ।
विश्व विराट आश्रमले सञ्चालन गरिरहेको ऐतिहासिक श्रीमद्भागवत महापुराण विराट् महायज्ञको शुक्रबार चौथो दिन सम्पन्न भएको छ । विद्वान् सन्तको प्रेरणादायी वैज्ञानिक प्रवचनबाट आजको सत्र आरम्भ भएको थियो । देश तथा विदेशका ख्याति प्राप्त व्यक्तित्वहरूद्वारा विशेष व्याख्यान हुने ऐतिहासिक यस् यज्ञले परमात्माको कृपानुभूतिबाट निरन्तरता पाइरहेको विश्व विराट आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले बताए ।
वैदिक सनातन धर्मको रक्षार्थ सप्ताहव्यापी रूपमा सञ्चालन भइरहेको विराट यज्ञले विराट गुरुकुल एवं शास्त्र अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लक्ष राखिरहेको छ ।
विश्व विराट आश्रमले कलङ्कीको गोरक्षपीठ वासुकीचौरमा सञ्चालन गरिरहेको महायज्ञले एक करोड गीतादान महाअभियानको मूलमन्त्र बनाएको छ ।
महायज्ञ हुनुभन्दा एक वर्ष अगाडिदेखि नै उक्त समितिले दस लाखभन्दा धेरै गीतादान गरिसकेको पं.वेदप्रसाद पन्थले बताएका छन् । पं.पन्थ विद्वान लेखक एवं धार्मिक पुस्तकका सम्पादक हुन् । उनले नेपालको प्रतिष्ठित पुस्तक प्रकाशन उषा पुस्तक गृहबाट १८ पुराण एवं महाभारत, रामायण प्रकाशन गरिसकेका छन् भने अध्यात्म रामायण र वेद प्रकाशनको क्रममा रहेको उनले बताए । महायज्ञको आयोजक रहेको विश्व विराट ज्ञान आश्रमका अध्यक्ष समेत रहेका पं.पन्थले पछिल्लो समयका राजनीतिज्ञमा आध्यात्मिक चेत आउनुपर्ने बताए ।
विराट आश्रमका प्रमुख शालिकराम उपाध्याय घिमिरेले महायज्ञ सफलताका लागि पाँच लाखभन्दा बढी दान गरिसकेका छन् । यसरी नै भन्न सकिने अवस्था छ कि आश्रमले विशुद्ध धार्मिक योजनामा आफैँ करोडौं खर्च एवं दान गरिरहेको छ । धार्मिक महायज्ञ लगाएर अन्य पश्चिमी संस्कृतिलाई प्रोत्साहन दिने कार्यक्रमलाई आफ्नै पूर्वीय संस्कृतिको उत्थान र विकासको सुरुवात गरेर विश्व विराट ज्ञान आश्रमले गजबको सबक सिकाएको छ ।
वेवारिसे र दु:ख पाएका जेष्ठ नागरिक गृहसमेत सञ्चालनार्थ आश्रमले संकल्प लिएको छ । स्थानीय भक्तहरुको सहयोग तथा सहभागितामा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले मन्दिर प्राङ्गणमा सुमधुर कथावाचन गरिरहेका छन् भने विपिनकृष्ण भट्टराईले श्रीमद्भागवत कथा महात्म्य एवं कथा पारायण गरिरहेका छन् ।
शुक्रबार पनि सदा झैं केही दानवीरहरूले ईश्वरको प्रेरणाले आश्रम र महापुराणका लागि जिन्सी
लगायत रकम आदि दान दिएको आश्रमले बताएको छ । शुक्रबार महायज्ञलाई जशोदादेवी घिमिरेले तीन लाख एघार हजार एकसय एघार रुपैयाँ दान दिएको महायज्ञ मूल समारोह समितिले जानकारी दियो ।
सरलादेवी धमलाले एकलाख र दस कक्षा पढ्दै गरेकी अभियान घिमिरेले एकाउन्न हजार रकम दान दिइन् । सम्भवत: दश कक्षा पढ्दै गरेकी एक किशोरीले धार्मिक कार्यमा यति धेरै रकम दान गरेको पहिलो रेकर्ड हो । किशोरी अभियानले श्रीमद्भगवद्गीता सत्संगबाट समेत भक्तजनहरू आकर्षित गरेकी थिइन् । उनी पनि महायज्ञकी अर्की आकर्षक केन्द्रविन्दु रहेको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
पं.वेदप्रसाद पन्थले एकलाख साठी हजार, गगनप्रसाद पन्थले एकलाख तथा गोपाल भवेश्वर पन्थबाट दुईलाख रकम प्राप्त भएको आश्रमले बताएको छ । भागवतका बीच बीचमा विविध सांस्कृतिक कार्यक्रम एवं झाँकी समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा देश तथा विदेशबाट साधु, सन्तहरूको उल्लेखनीय उपस्थिति थियो भने केही सन्त आउने क्रम जारी नै रहेको महायज्ञका प्रमुख सङ्कल्पकर्ता शालिकराम उपाध्याय घिमिरेले बताए । राष्ट्रियस्तरका व्यक्तित्व लगायत विभिन्न क्षेत्रका कलाकारहरू पनि यज्ञमा सहभागी भएका थिए । यस शोभामय महायज्ञ आउँदो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।