
पोखरा ,जेष्ठ ३
पोखरा — अस्पतालको आइसोलेसन वार्ड अगाडि तीन–चारवटा समूह आँखाभरि आँसु बनाउँदै आफन्तको शव पर्खिरहेछन् । डाकै छाडेर रुनेको चित्कार आइसोलेसनमा बसिरहेका संक्रमितसम्मै पुग्छ । धेरैको मुखबाट सुनिन्छ, ‘बिहान राम्रैसँग बोलिरहेको मान्छे, अहिले यस्तो भयो ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस्तो दृश्य दैनिकजसो देखिन्छ । प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पछिल्ला १३ दिनमा ३० संक्रमितले ज्यान गुमाए । आइसोलेसन वार्डको एउटा कोठामा ५–६ जना संक्रमित छन् । अलि अघिसम्म छेउमै अर्को बेडका बोलिरहेको संक्रमितको निधन भएको देख्दा अन्य संक्रमित आत्तिने गरेका छन् ।
पोखरा–३३ का ४२ वर्षीय कोरोना संक्रमित पुरुष वैशाख २१ देखि गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका थिए । बुधबार दिउँसो श्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा राखियो । बेलुकासम्म सुधार भयो । बिहीबार बिहान एक्कासि उनको मृत्यु भयो । आफन्तका अनुसार अस्पतालमा आफ्नो आँखै अगाडि अर्को बिरामीको निधन भएको देखेर उनी आत्तिएका थिए । चिकित्सकले समेत उनले मनोबल कमजोर बनाउँदा ज्यान गुमाउनुपरेको आफन्तलाई बताए ।
क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसनमा कार्यरत पोखराकी एक नर्स कोरोना महामारीको सुरुवातदेखि नै संक्रमितको सेवामा खटिएकी छन् । यसपल्ट भने उनले संक्रमितको मनोबल निकै खस्केको पाएकी छन् । उनका अनुसार कोभिड भएपछि मरिहालिन्छ भन्ने डर संक्रमितलाई छ । कतिपय संक्रमित आत्तिएर आफूलाई सम्हाल्न नसक्दा ज्यान गएको उनी स्विकार्छिन् । कतिपय संक्रमितमा अक्सिजनबारे गलत धारणा छ । थोरै अक्सिजन दिए हुनेमा पनि आत्तिएका बिरामी र आफन्तले धेरै सप्लाई गर्न माग गर्छन् । ‘एक लिटर लगाउनुपर्नेले पनि १२–१३ लिटर लगाइरहेका छन्,’ उनले भनिन्, ‘अक्सिजन दियो भने मात्रै सञ्चो हुन्छ, नलगाए मरिहाल्छु भन्ने गलत धारणा बिरामीमा छ । यसले गर्दा पनि अक्सिजन अभाव हुने स्थिति छ ।’
आइसोलेसनभित्रको दृश्य पनि तनावपूर्ण हुन्छ । संक्रमितलाई एक सेकेन्ड मात्रै पनि सास फेर्न गाह्रो हुँदा स्वास्थ्यकर्मीले गाली पाउँछन् । संक्रमितलाई गाह्रो भएको देखेर कुरुवा बसेका आफन्त पनि अत्तालिन्छन् । अस्पताल ल्याएपछि सबै जिम्मा स्वास्थ्यकर्मीले लिनुपर्छ भन्ने मानसिकता संक्रमितको आफन्तमा हुन्छ । त्यस्तोमा स्वास्थ्यकर्मीले संक्रमित र उनीहरूका आफन्तलाई सम्झाइबुझाइ गर्छन् । आत्मबल बढाउन परामर्श दिन्छन् । ‘कोरोनालाई जित्न शारीरिक मात्रै होइन मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ,’ उनले भनिन्, ‘संक्रमितले तनाव धेरै लिँदा अक्सिजन पनि धेरै चाहिन्छ । नियमित वितरण भइरहेको तहभन्दा एक्कासि धेरै अक्सिजन शरीरलाई चाँहिदा थाहै नभई अपुग भएर संक्रमितको ज्यान गइरहेको छ ।’
क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा.शरद बराल आइसोलेसन र कोभिड आईसीयूमा रहेका बिरामी धेरै आत्तिने गरेको आफूले पाएको बताउँछन् । एक जनाको मृत्यु हुँदा अन्य संक्रमित हतोत्साहित हुने गरेको उनले बताए । ‘यसै पनि संक्रमितको शरीरमा अक्सिजनको कमी भइरहेको हुन्छ,’ उनले भने, ‘अत्तालिने, मनोबल कमजोर बनाउने गर्दा संक्रमितमा अक्सिजनको मात्रा झनै कम हुन्छ ।’
उनका अनुसार कोरोना संक्रमण हुँदा फोक्सोमा पुग्ने स–साना रक्तनलीमा रगत जमेर बस्छ । जसले गर्दा फोक्सोमा पर्याप्त मात्रामा अक्सिजन सञ्चार हुन पाउँदैन । संक्रमित अत्तालिँदा यो प्रक्रिया अझै धेरै हुन्छ । ‘पहिला टाठै भएका संक्रमितको पनि फोक्सोमा पुग्ने रक्तनली ब्लक भएर तत्कालै ज्यान जान सक्छ,’ डा.बरालले भने, ‘यस्तो नहोस् भनेर हामीले रगत पातलो बनाउने औषधि पनि दिइरहेका छौं ।’
प्रशस्त खान्की खाने, परिवारलाई नअत्ताउने र आफू पनि नआत्तिने संक्रमित चाँडै निको भएको उनको अनुभव छ । आत्मबल कमजोर हुँदा भने २० देखि ४० वर्ष उमेर समूहका संक्रमितको पनि निधन भइरहेको छ । चिकित्सकले संक्रमितको आत्मबल बढोस् भनेर बेलाबेला शरीरको अक्सिजन लेभल नापेर सुधार हुँदै गएको बताउने गरेका छन् ।
गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा संक्रमितको मनोबल घट्न नदिन चिकित्सक परामर्शमा खटिन्छन् । बिरामीको अवस्थाबारे जानकारी दिएर संक्रमित र आफन्तलाई नआत्तिन भन्छन् । चिकित्सकलाई नै देखिसकेपछि संक्रमितमा पनि आत्मबल बढ्ने गरेको पाएको अस्पतालका कार्यकारी निर्देशक डा.विकास गौचन बताउँछन् ।
क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसनमा कार्यरत नर्सका अनुसार अर्की एक नर्सलाई गत साता कोरोना संक्रमण देखियो । उनी घरमै आइसोलेसनमा बसिन् । अहिले उनको परिवारका सबै जनामा कोरोनाको लक्षण देखिएको छ । तर उनले परीक्षण नगरी घरमै राखेर आफैं रेखदेख गरेकी छन् ।
अस्पतालले पहिले कोभिड आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था गरेको थियो । अहिले खोप लगाइसकेको भन्द त्यस्तो व्यवस्था हटेको छ । स्वास्थ्यकर्मीलाई भने घर जाँदा कोरोना पनि सँगै लगिने चिन्ता सधैं हुन्छ । ‘कतिजनाको घरमा बूढा, दीर्घरोगी बुबाआमा हुनुहुन्छ,’ ती नर्सले भनिन्, ‘आफूलाई मात्रै सरे केही हुने थिएन । आफैंले घरमा कोरोना सारिन्छ र कसैलाई केही हुन्छ कि भन्ने चिन्ता लागिरहन्छ ।’
स्वास्थ्यकर्मीलाई शारीरिक र मानसिक दबाव हुँदा समेत कतैबाट मनोबल बढाउने कोसिस नभएको उनको गुनासो छ । कतिको परिवारले हौसला दिए पनि कतिले भने नर्सको जागिर छोड्नसमेत दबाब दिन्छन् । नियमित तलब भत्ताबाहेक प्रोत्साहन स्वरूप केही पाउँदैनन् । स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुन सके, आफूहरूको कामको कदर भए र प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था हुने हो भने संक्रमितको सेवामा खटिन थप प्रेरणा मिल्ने उनी बताउँछिन् ।
अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल आइसोलेसनमा संक्रमितको अवस्था देखेर स्वास्थ्यकर्मी विक्षिप्त हुने गरेको बताउँछन् । ‘एउटा संक्रमितको मृत्यु हुँदा उनीहरूको आफन्तलाई सम्झाउनुपर्छ । तत्कालै अर्को संक्रमितलाई नआत्तिन भन्नुपर्छ,’ उनले भने, ‘छिनछिनमै मुड परिवर्तन गर्नुपर्ने स्थिति छ । कहिलेकाहीँ जागिर नै छाडौंजस्तो पनि हुन्छ । तर यस्तो महामारी आफ्नै आँखाले देख्दादेख्दै छोड्न मन मान्दैन ।’
(आजको कान्तिपुर दैनिकमा )
