Fast Nepal News

निषेधाज्ञा उल्लंघन गरे कैद र जरिवाना

banner single news

काठमाडौँ — ११ जेष्ठ

काठमाडौँ, गृह मन्त्रालयले कोभिड संकट व्यवस्थापनसम्बन्धी केही दिनअघि जारी भएको अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) तथा प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि त्यसको बोधार्थ दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गर्न स्पष्ट रूपमा निर्देशन दिइएको बताए ।

अध्यादेशमा उल्लिखित कैद र जरिवानाका प्रावधानलाई कडाइका साथ लागू गरिने भन्दै काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले सोमबार नै सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रशासनले मंगलबार संयुक्त बैठक बसेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले बताए । उपत्यकामा वैशाख १६ बाट जारी निषेधाज्ञा बिहीबार सकिँदै छ । अवधि थप्न बैठक हुने भएको छ । ‘नयाँ व्यवस्थाअनुसार सजायको व्यवस्था निकै कडा छ । आदेश उल्लंघन गर्नेलाई अब कैद र जरिवानाको कारबाही तहसम्मै जान बाध्य हुन्छौं,’ सहायक प्रजिअ बस्नेतले कान्तिपुरसँग भने ।
Inside Article Ads

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार जारी गरेको अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबेगर सवारी चलाए दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकैपिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ । आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि प्रजिअलाई छ ।

काममा अवरोध पुर्‍याए सम्बन्धित व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान पछिल्लो अध्यादेशमा छ । यसैगरी महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ ।

( आजको कान्तिपुर दैनिकमा )
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.