Fast Nepal News

कन्ट्याक्ट ट्रेसिङ न परीक्षण

banner single news

रुपन्देही, बाँके, कपिलवस्तु, पाल्पा, बर्दिया — १० जेष्ठ

रुपन्देही, बाँके, कपिलवस्तु, पाल्पा, बर्दिया, रूपन्देहीको तिलोत्तमा–६ की ३१ वर्षीयालाई गत वैशाख २६ गते ज्वरो आयो, रुघा लाग्यो । स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि उनी अलग्गै बस्न थालिन् । आफूहरूलाई लक्षण नदेखिएको भन्दै परिवारका सदस्यले त आफ्नो परीक्षण गराएनन् नै, उनीहरूको परीक्षणमा नगरपालिकाले चासो नै दिएन ।

केही दिनपछि भने त्यो परिवारका अन्य सदस्यलाई लक्षण देखिन थाल्यो । आफैं अस्पताल गएर कोरोना जाँच गराए । परीक्षण नगरुन्जेल उनीहरू पसल, सडक र समुदायमा घुलमिल भइरहेका थिए । आसपासका परिवारमा संक्रमण देखिरहेको छ । अहिले टोलका पाँचभन्दा बढी घरमा संक्रमित छन् ।

बुटवल–११ का २८ वर्षीय पुरुष गत वैशाख २३ मा संक्रमित भए । सरकारी कर्मचारी भएकाले कामको सिलसिलामा संक्रमण भएको हुन सक्ने उनले बताए । ‘म संक्रमित भएपछि उपमहानगरपालिकालाई जानकारी दिएँ,’ उनले भने, ‘मेरो सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिदिन आग्रह पनि गरें ।’ अनुरोध गरेको चार दिनपछि स्वास्थ्यकर्मी स्वाब लिन आए । उक्त स्वाबको रिपोर्ट जेठ ८ गते प्राप्त गरेको उनले बताए । ‘श्रीमतीको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने, ‘तर, यस अवधिमा धेरै मानसिक तनाव झेल्नुपर्‍यो ।’ बेलामै परीक्षण नभएको र रिपोर्ट आउन १४ दिनभन्दा बढी समय लागेको उनको गुनासो छ ।

बुटवल–१२ की ६१ वर्षीयालाई गत वैशाख २० गते ज्वरो आयो । छोराले छुट्टै कोठामा राखे । पाँच दिनपछि पीसीआर परीक्षण भयो । उक्त अवधिमा छोरा, बुहारी र अन्य सदस्य घरबाहिर आउजाउ गरिरहे । केही दिनपछि छोरालाई लक्षण देखियो । उनलाई संक्रमण पुष्टि भयो । उनी पनि आइसोलेट भए । तीन दिनपछि उनकी श्रीमतीलाई ज्वरो आयो । परीक्षणमा उनमा पनि कोरोना देखियो । परिवारले संक्रमणबारे मुख खोलेनन् । उनीहरूको सोधखोज गर्न कुनै निकाय आएन । ‘सरकारी निकायबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भएको छैन,’ उनका छोराले भने, ‘मलाई पोजिटिभ देखिएको अघिल्लो दिनसम्म म समुदायमा घुलमिल भइरहेको थिएँ ।’ घरकै सदस्यको ट्रेसिङका लागि अनुरोध गर्दा ७/८ दिन लाग्ने भनेपछि आफैं गएर परीक्षण गराएको उनले बताए ।

कोरोना महामारीको दोस्रो लहरमा हटस्पट बनेको लुम्बिनी प्रदेशका जिल्लामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र कोरोना परीक्षणलाई बेवास्ता गरिएको छ । लक्षण देखिएपछि व्यक्ति आफैं अस्पताल गएर जँचाउने गरेका छन् । स्थानीय तह र स्वास्थ्य कार्यालयले समुदायमा पुगेर शंका लागेका व्यक्तिको स्वाब संकलन र परीक्षण गरेका छैनन् । जसले गर्दा कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएको छ । लक्षण देखिए पनि घरमै सहेर बस्ने बढेका छन् । परीक्षण नगराएपछि दैनिक संक्रमितको संख्यामा कमी आइरहेको छ । त्यसलाई स्वास्थ्य कार्यालयले कोरोना संक्रमणमा कमी आएको भन्दै प्रचार गरिरहेको छ । यसअघि संक्रमणको केन्द्र सहर र आसपास थिए ।

अहिले गाउँगाउँमा संक्रमण फैलिएको छ । आकस्मिक अवस्था, अन्य जटिल रोगका बिरामी र घरमा मानिसको मृत्यु भएको अवस्थामा एन्टिजेन परीक्षण सुविधा उपलब्ध गराइएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताए । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भने संक्रमितको संख्या घट्दै गएको दाबी गरे । ‘समुदायमा गत वर्ष भएको जति पनि परीक्षण यस वर्ष हुन सकेन,’ उनले भने, ‘पालिकाले परिवारबाहेकलाई पनि ट्रेसिङका आधारमा परीक्षण गर्नुपर्छ ।’

नेपालगन्जमा शनिबार ६ सय २४ जनाको कोरोना परीक्षण गर्दा ४ सय ३१ जनामा संक्रमण पुष्टि भयो । शुक्रबार ५ सय ८४ जनाको परीक्षण गर्दा ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको यो अभिलेख ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा होइन । यी व्यक्ति स्वस्फूर्त परीक्षण गराउन आएका हुन् । भेरी, नेपालगन्ज शिक्षण अस्पताल र बागेश्वरी ल्याबमा स्वस्फूर्त कोरोना परीक्षण गर्न जाने बढेका छन् । समुदायमा ‘केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ’ रोकिएको छ । कोरोना पुष्टि भइसकेका व्यक्तिको परिवारका सदस्यको समेत ट्रेसिङ गरिँदैन ।

जसले संक्रमण नियन्त्रणमा चुनौती छ । निषेधाज्ञा जारी गरेको एक महिना भए पनि संक्रमण नियन्त्रणमा छैन । चिकित्सक भने कन्ट्याक्ट ट्रेसिङ नगरेसम्म नियन्त्रण नहुने बताउँछन् । ‘दुई/चार महिना कोरोनाको संक्रमण बढेजस्तो, कहिले घटेजस्तो देखिए पनि समुदायस्तरबाटै नियन्त्रण गर्न केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ अनिवार्य हुन्छ । त्यो नगर्दासम्म सम्भव देखिन्न,’ भेरी अस्पतालका डा. राजन पाण्डेले भने, ‘समयमै ट्रेसिङ गर्न नसक्दा यो अवस्था आएको हो ।’

संक्रमित पुष्टि भइसकेका व्यक्तिका परिवारको समेत ट्रेसिङ हुन नसकेको उनले बताए । ‘एकै दिन हजार जना बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने हो भने लाखौंको परीक्षण गर्नुपर्छ,’ उनले भने ।

बाँकेमा दैनिक सयौं व्यक्तिमा संक्रमण पुष्टि हुने गरेकाले ट्रेसिङ सम्भव हुन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कन्ट्याक्ट ट्रेसिङ पूर्ण रूपमा बन्द भएको बताए । उनले संक्रमित व्यक्तिका परिवारमै ट्रेसिङ गर्न नसकिएको स्विकारे । ‘समुदायमा ट्रेसिङको कुरै नगर्नूस् ।

Inside Article Ads

कोरोना पुष्टि भएका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको पनि परीक्षण गर्न सकेका छैनौं,’ उनले भने, ‘घरघरमा कोरोनाको संक्रमण पुगिसक्यो । ट्रेसिङ गरेर परीक्षण गर्न सम्भव छैन ।’ पहिलो चरणको संक्रमण देखिँदा नेपालगन्जको जोलहनपुरवार र नरैनापुर गाउँपालिका हटस्पट बनेको थियो । कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गरेपछि कोरोनाको संक्रमण नियन्त्रणमा आएको थियो । बाँकेका ८ स्थानीय सरकारहरूले पनि समुदायमा परीक्षण गर्न सकेका छैनन् ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा एन्टिजेन किट अभाव भएको पाँच दिन भइसक्यो । अझै एक साता किट उपलब्ध नहुने भएको छ । यसअघि त्यहाँ २ सयको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखियो । उनीहरू होम आइसोलेसनमा छन् । तीमध्ये तीन जनाको मृत्यु भइसक्यो ।

गाउँमा बिरामी भए पनि सीमावर्ती शुद्धोदन गाउँपालिकाले परीक्षणमा ध्यान दिएको छैन । गाउँपालिकामा अहिलेसम्म एन्टिजेन परीक्षण गरिएका ३५ मध्ये १८ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसपटक सीमावर्ती स्थानीय तहले परीक्षणलाई बेवास्ता गरेका छन् । ‘परीक्षणको अवस्था कमजोर छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले भने, ‘यसले गाउँगाउँमा संक्रमणको जोखिम बढेको छ ।’

समुदायमा परीक्षण नहुँदा संक्रमण भुसको आगोजस्तै फैलिरहेको उनले बताए । संक्रमण लुकाउने र लापरबाहीले समस्या भइरहेको छ । मायादेवी गाउँपालिकाले अहिले १ सय ५६ जनाको मात्रै परीक्षण गरेको छ । २४ पोजिटिभ देखिएका छन् । २८ जनाको रिपोर्ट आउन बाँकी छ । ‘परीक्षणको दायरा जति बढायो, त्यति संक्रमण कम हुँदै जान्छ,’ स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले भने, ‘यहाँ परीक्षण नगरेर संक्रमण नै छैन भनेर बस्ने चलन छ ।’

पाल्पाका गाउँगाउँमा ज्वरो आउने, खोकीका लक्षण भएका बिरामी छन् । उनीहरूको स्वास्थ्य जाँच र कोरोना परीक्षण गरिएको छैन । स्थानीय तहले परीक्षणमा बेवास्ता गर्दै आएका छन् । रुघाखोकी, ज्वरोलाई मौसमी फ्लु भन्दै घरमै बसिरहेका छन् । लक्षण मिले पनि कोरोना परीक्षणमा पहल नगरिएको रैनादेवी छहरा–३ का वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । ‘तीन साताअघि भारतबाट फर्किएकाको स्वाब लिइयो,’ उनले भने, ‘त्यसपछि परीक्षण छैन ।’

यस्ता लक्षण भएकाको स्वास्थ्य गम्भीर भएर अस्पताल पुर्‍याइएका सबैमा कोरोना पोजिटिभ देखिएको छ । तीन जनाको मृत्यु भइसकेको दर्लामीले बताए । ल्याबमा किट अभाव भएको जनाउँदै गाउँपालिकाको स्वास्थ्य शाखाले नमुना संकलन गरेको छैन । ‘संक्रमित मेलापात जान्छन्,’ उनले भने, ‘जसले गर्दा संक्रमण फैलिएको छ ।’ स्वास्थ्य शाखा प्रमुख जीवन रानाले स्वाब संकलन गरेर ल्याबमा नपठाउनु भन्ने खबर पाएपछि चुप लागेको बताए ।

गाउँपालिकाको भुवनपोखरीका १ सय ७ जनाको स्वाब परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । ‘हामीसँग किट छ,’ हुँगी स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा. पूजन श्रेष्ठले भने, ‘लक्षण देखिएका धेरै छन् तर हामीले गम्भीर भएकाको मात्र परीक्षण गरेका छौं ।’ एन्टिजेन र भीटीएम कमीले समस्या भइरहेको उनले बताए । जुन टोलमा पुग्यो, उतै बिरामी भएको सूचना आउने गरेको श्रेष्ठले बताए ।

बर्दियाका गाउँ र सहरका बस्तीमा घरैपिच्छे रुघाखोकी, ज्वरो र निमोनियाका बिरामी छन् । यस्ता लक्षणलाई सामान्य बताउँदै मेडिकलबाट औषधि किनेर खाइरहेका छन् । बारबर्दिया–९ का सुनील चापागार्इंले वडाका सबै घरमा रुघाखोकी, ज्वरोका बिरामी रहेको बताए । ‘अधिकांशलाई कोरोनाको लक्षण छ,’ उनले भने, ‘अहिलेसम्म परीक्षण गरिएको छैन ।’ यस्ता बिरामी बस्तीमा घुमफिर गर्दै आएका छन् । बढैयाताल गाउँपालिकाको ९ नम्बर वडामा ज्वरो, रुघाखोकीले स्थानीय थला परेका छन् ।

( आजको कान्तिपुर दैनिकमा )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.