
रूपन्देही —७ जेष्ठ
रूपन्देही, रूपन्देहीका प्रमुख अस्पताललाई कोरोना विशेष बनाएपछि कोरोना संक्रमितबाहेक अन्य बिरामीले उपचार पाउन नसक्ने अवस्था सिर्जना भएको छ । यतिसम्म कि उपचार गराउँदा निको हुने अवस्थाका बिरामीले पनि उपचार नपाएर मृत्युवरण गर्न थालेका छन् ।
यहाँका अस्पताल परिसर र आकस्मिक कक्षका भुइँमा पनि संक्रमितको उपचार भइरहेको छ । धेरै अस्पतालले बहिरंग सेवा स्थगित गरेका छन् । जसले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने दीर्घरोगी घरमै छन् । पछिल्लो समय दुर्घटनामा गम्भीर घाइतेले समेत उपचार पाएका छैनन् । यस्ता घाइतेलाई अस्पताल खोज्दै दौडाउनुपर्ने अवस्था छ ।
एक साताअघि रूखबाट लडेर घाइते कपिलस्तुको वाणगंगा–५ कोपवाका २४ वर्षीय सञ्जय थारूको समयमै उपचार नपाएर मृत्यु भयो । आँप टिप्न रूख चढेका उनको टाउको र छातीमा गम्भीर चोट लागेर अचेत थिए । घटनालगत्तै उनलाई भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्याइयो । अस्पतालले अक्सिजन आवश्यक पर्ने जनाउँदै उपचार गर्न नसक्ने जनायो । त्यहाँबाट बुटवल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको उनकी आफन्त सरिता थारूले बताइन् । ‘अक्सिजनको लेबल एकदमै कम भएको थियो,’ सरिताले भनिन्, ‘डाक्टरले यस्ता बिरामीलाई अक्सिजन सपोर्ट चाहिने बताएका थिए ।’ भर्ना भएका संक्रमितलाई अक्सिजन अभाव भएका बेला परेकाले उपचार गर्न नसकिएको अस्पतालले जनाएको छ ।
सैनामैना–७ की ४९ वर्षीयालाई गत वैशाख २१ को साँझ लगातार खोकी लागेपछि परिवारले राति साढे १२ बजे एम्बुलेन्समा बुटवलसम्म ल्याए । बुटवलका तीनवटा निजी अस्पताल लगे पनि भर्ना लिएनन् । अन्तिममा लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए । त्यहाँ एम्बुलेन्सबाट आकस्मिक कक्षमा लैजानेबित्तिकै उनको मृत्यु भयो । ‘त्यहाँ पुर्याउनुअघि अन्य अस्पतालले भर्ना गरेको भए बाँच्नुहुन्थ्यो कि,’ मृतकका छोराले भने, ‘बिराम नै पत्ता नलागेर आमा बित्नुभो ।’ भर्नाका लागि निजी अस्पतालले कोरोनाको रिपोर्ट मागेको उनले बताए । ‘आमा निक्कै आत्तिनु भएको थियो,’ उनले भने, ‘मध्यरातमा कहाँ जँचाएर पीसीआर रिपोर्ट ल्याउनू ?’
तौलिहवा–जितपुर सडक खण्डमा बुधबार राति माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि गोली प्रहार भयो । उनको पेट र कम्मरमा दुईवटा गोली लाग्यो । गम्भीर घाइते उनलाई उपचारका लागि कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले रूपन्देहीको बुटवल ल्याए । बुटवलका कुनै अस्पतालमा भर्ना नलिएपछि उनलाई बिहीबार बिहान भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्याएको भण्डारीले बताए ।
सैनामैना–३ की ५० वर्षीया एक महिलालाई शरीर दुख्ने, ज्वरो आउने भइरह्यो । दुई साताअघि उनी उपचारका लागि बुटवल आइन् । आफूमा कोरोनासँग मिल्ने लक्षण भएकाले अस्पतालले उपचारमा आलटाल गरेपछि उनले फर्किएर घर नजिकैको मेडिकलबाट औषधि ल्याएर खाई निको भएको उनले बताइन् ।
( आजको कान्तिपुर दैनिकमा )
