Fast Nepal News

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

banner single news

पोखरा – माघ ११

पोखरा, नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक तथा सूचना राख्ने गरी एकीकृत पर्यटन तथ्यांक प्रणाली विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त प्रणालीको विकास गर्न लागिएको हो ।

उक्त प्रणालीका बारेमा पहिलो पटक पोखराका पर्यटन व्यवसायी एवम् संघसंस्थासँग राय सुझाव संकलन गरिएको बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले बताए । ‘अहिलेसम्म नेपाल आउने पर्यटकको एकीकृत तथ्यांक राख्न सकिएको थिएन, अब उक्त प्रणालीको विकासपछि नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक राख्न सकिने छ,’ उनले भने, ‘यसलाई प्रभावकारी रूपमा तयार गर्न पहिलो पटक पोखरामा सरोकार संघसंस्था र पर्यटन व्यवसायीसँग छलफल गरेका छौं ।’

सो प्रणालीबाट नेपाल आउने पर्यटकको बसाइ अवधिदेखि आवश्यक सम्पूर्ण विवरण राख्न सकिने उनले बताए । ‘अहिलेसम्म पर्यटनको एकीकृत तथ्यांक संकलन केन्द्र नहुँदा पर्यटनसँगसम्बन्धी कुनै पनि घटना एवम् गतिविधिको तथ्यसहितको विवरण पाउन सकेका छैनौं । यसले धेरैलाई अन्योल समेत बनाएको छ । कहाँ कति पर्यटक आए, कति बसे, को कहाँ घुम्दै छन् भन्ने पनि थाहा छैन,’ उनले भने, ‘अब डिजिटल प्रणालीको विकाससँगै सहज हुनेछ ।’

Inside Article Ads

तथ्यांक प्रणालीको विकाससँगै अहिले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्रले भोग्नुपरेको समस्या, लगानी, नोक्सान र वास्तविक श्रमिकको तथ्यांक समेत निकाल्न सकिने उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपाल सरकारले ढिलै भए पनि डिजिटल प्रविधिको प्रयोग गर्दै तयार गर्न लागेको एकीकृत सूचना प्रणाली पर्यटन क्षेत्रका लागि निकै स्वागतयोग्य भएको बताए । यस प्रणालीबाट कुन देशको कति पर्यटक आए, कहाँ कहाँ गए भन्ने विवरणसहित पर्यटन क्षेत्रका रोजगारदाता, श्रमिक र यस क्षेत्रका लगानीका बारेमा समेत एकीकृत सूचना आउने उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.