
सुमित्रा भुजेल
लमजुङ, बैशाख ९ — जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिक वर्ष २०८२/८३ को माघ, फागुन र चैत महिनाको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षा अनुसार उक्त अवधिमा ६० वटा मुद्दा दर्ता भएकोमा १५ वटा मात्र फछ्र्योट भएका छन् भने ४५ वटा मुद्दा अझै फछ्र्योट हुन बाँकी रहेका छन्।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख (डीएसपी) जितेन्द्र कुमार बस्नेत को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक (असई) कृष्ण विश्वकर्मा ले गर्नुभएको थियो।
प्रहरीका अनुसार बाँकी मुद्दामध्ये २२ वटा मुद्दामा प्रतिवादी पहिचान हुन नसकेको छ भने २३ वटा मुद्दाका प्रतिवादी फरार रहेका कारण फछ्र्योट हुन बाँकी रहेको हो। कुल प्रतिवादीमध्ये २० जना पक्राउ परेका छन् भने १९ जना अझै फरार रहेका छन्।
अपराधको प्रकृति हेर्दा बैंकिङ कसुरका १४ वटा तथा आत्महत्या (झुण्डिएर मृत्यु) सम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै लागूऔषध, कर्तव्य ज्यान, सवारी ज्यान, बालबालिका सम्बन्धी कसुर लगायतका मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस अवधिमा केही गम्भीर घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको छ भने केही घटनामा अनुसन्धान अझै जारी रहेको छ।
ट्राफिक कारबाहीतर्फ माघदेखि चैतसम्म २,६५७ वटा सवारी साधन कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट करिब २३ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। साथै मापसे गरी सवारी चलाउने ९१ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार तीन महिनामा हराएका १८ जनामध्ये १५ जना फेला पारिएका छन्।
उजुरी तथा छानबिन शाखामा परेका ८३ निवेदनमध्ये ८० वटा फछ्र्योट भइसकेका छन् भने ३ वटा अझै बाँकी रहेका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसी, प्रदेश सदस्य जनक श्रेष्ठ र जिल्ला अध्यक्ष सन्देश पौडेल लगायत जिल्लाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चोरी नियन्त्रण, लागूऔषध न्यूनीकरण, घरेलु हिंसा, सवारी दुर्घटना न्यूनीकरण लगायतका विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
त्यस्तै, जिल्लामा शान्ति सुरक्षा कायम राख्न विभिन्न सुरक्षा योजना कार्यान्वयन गरिएको र हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफल भएको प्रहरीले जनाएको छ। साथै बेसीशहरका मुख्य स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गरी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइएको छ।
