Fast Nepal News

तीजको दर खाने रकम बाढीपीडितका लागि सहयोग मञ्जुश्री महिला समाजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ लाख २५ हजार ५२५ रुपैयाँ हस्तान्तरण

सानो भए पनि विपद्मा परेका परिवारलाई राहत पुगोस् भन्ने भावनाले सहयोग गर्न पाउँदा आफूहरू खुसी भएको समूहमा सहभागी महिलाहरूले बताए।

banner single news

काठमाडौं, २०८३ असोज ७ गते ।
नागार्जुन नगरपालिका–१, रानीवनस्थित मञ्जुश्री महिला समाजले तीज पर्वमा दर खाने रकम संकलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ।
समूहका प्रतिनिधिहरू आज अर्थ मन्त्रालयमा पुगेर उक्त रकम नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
तीज पर्वमा परम्परागत रूपमा दर खाने तथा मनोरञ्जनमा खर्च गरिने रकमलाई यसपटक विपद्मा परेका नागरिकको राहतका लागि उपयोग गर्ने उद्देश्यले समूहले रकम संकलन गरेको जनाएको छ। सानो भए पनि विपद्मा परेका परिवारलाई राहत पुगोस् भन्ने भावनाले सहयोग गर्न पाउँदा आफूहरू खुसी भएको समूहमा सहभागी महिलाहरूले बताए।


गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। रसुवामा सडक, पुल, निजी घर, विद्यालय, सार्वजनिक संरचना तथा जलविद्युत् आयोजनाहरूमा समेत व्यापक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो।
बाढीपछि रसुवाका प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेको छ। प्रभावित परिवारका लागि विभिन्न स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्रसमेत सञ्चालन गरिएको थियो।
रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नागार्जुन–१ रानीवनका महिलाहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय भावनाको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
उनले समाजलाई अगाडि बढाउन सामाजिक भावना बोकेका सचेत नागरिक तथा महिला समूहहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मञ्जुश्री महिला समूहको मानवीय कार्यबाट अरूले पनि प्रेरणा लिनुपर्ने बताए।
तीजको उत्सवमा हुने खर्चलाई विपद्मा परेका नागरिकको सहयोगमा रूपान्तरण गर्दै मञ्जुश्री महिला समूहले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ।

Inside Article Ads
Visited 119 times, 98 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.