
सुमित्रा भुजेल
लमजुङ, असार २६ — बजेट अभावका कारण लमजुङको सेराफाँटस्थित जिल्ला कारागारको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन। २०८२ साल असार ३२ गते जीर्ण भवन भत्किएको नयाँ भवन निर्माणको अपेक्षा गरिए पनि आवश्यक बजेट सुनिश्चित नहुँदा काम अघि बढ्न नसकेको हो।
भवन विकास तथा निर्माण कार्यालय, कास्कीले पुनःनिर्माणका लागि करिब १७ करोड ७४ लाख रुपैयाँ लागत अनुमान तयार गरी सम्बन्धित निकायमा पठाएको छ। तर बजेट अभावकै कारण निर्माण प्रक्रिया रोकिएको छ।
जिल्ला कारागारका जेलर पुसा गौतमका अनुसार भवन भत्किए पछि कारागार सञ्चालन सम्भव नभएकाले १०९ जना कैदीबन्दीलाई अन्य जिल्लाका तनहु र कास्कि कारागारमा स्थानान्तरण गरिएको हो २०२८ सालमा निर्माण भएको कारागार भवन जीर्ण र जोखिमपूर्ण पनि थियो।
हाल कारागारमा कैदीबन्दी छैनन्। लेखा अधिकृतको पद रिक्त रहेको छ भने ६ जना कर्मचारी कार्यरत छन्।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार कैदीबन्दी अन्य जिल्लामा राख्नुपर्दा अदालतमा उपस्थित गराउने, आफन्तसँग भेटघाट गराउने तथा अन्य प्रशासनिक कार्य सम्पादनमा अतिरिक्त समय, जनशक्ति र खर्च व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। साथै, नयाँ कारागार भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन हुन सकेमा निर्माण कार्य तत्काल अघि बढाउन सकिने उनले बताए।
