
काठमाडौं, २९ जेठ २०८३
प्राकृतिक विज्ञान संग्रहालयमा अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस मनाइएकाे छ । संग्रहालय र वातावरण कानून समाज नेपालकाे संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको सभाहलमा अन्तरकृया गरी मनाइएको हाे ।

कार्यक्रममा वनस्पति, वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा, जैविक विविधता तथा संरक्षणसम्बन्धी विभिन्न विषयमा विज्ञहरूद्वारा महत्वपूर्ण प्रस्तुति दिइएको थियो । प्राकृतिक विज्ञान संग्रहालयका पूर्व प्रमुख प्रा. डा. केशव श्रेष्ठले ‘स्वयम्भू वातावरण पार्क तथा प्राकृतिक विज्ञान संग्रहालय’बारे कार्यपत्र प्रस्तुत गर्दै स्वयम्भू क्षेत्रको वनस्पतिको अवस्था, वातावरणीय महत्व, वनस्पति उद्यानको स्थापना इतिहास, विकासक्रम तथा संरक्षणका प्रयासहरूबारे विस्तृत जानकारी दिनुभयो ।
त्यसैगरी प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा. ईशान गौतमले ‘नेपालमा वनस्पति उद्यान र वन्यजन्तु क्षेत्रको कार्यान्वयन : विज्ञान, शिक्षा र संरक्षणबीचको सम्बन्ध’ विषयमा प्रस्तुति दिनुभयो । उहाँले वनस्पति उद्यानलाई केवल मनोरञ्जनको स्थल नभई अनुसन्धान, वातावरणीय शिक्षा र जैविक विविधता संरक्षणको महत्वपूर्ण केन्द्रका रूपमा व्याख्या गर्नुभयो ।
त्यसैगरी वातावरण कानून समाज नेपालका कोषाध्यक्ष तथा अधिवक्ता राजु फुँयालले ‘नेपालमा वन्यजन्तु संरक्षण कानुन’ विषयमा प्रस्तुति दिँदै वन्यजन्तु संरक्षणसम्बन्धी कानुनी व्यवस्था, संरक्षणका चुनौती र वातावरणीय न्यायका पक्षहरूबारे विद्यार्थी तथा शिक्षकहरूलाई जानकारी गराउनुभयो ।
इन्जिनियर सुरज श्रेष्ठले ‘नेपालमा वन्यजन्तु अपराध नियन्त्रण र आगामी बाटो” विषयमा प्रस्तुति प्रस्तुत गर्दै वन्यजन्तु अपराधका कारण, नियन्त्रणका उपाय, संरक्षणमा प्रविधिको प्रयोग तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे चर्चा गर्नुभयो ।
यस अवसरमा लाङ्टाङ सद्भावना दूत सामेत रहनुभएका अशोक सिलवालले आफ्नो ‘एचटूओ नेपाल बुक जर्नी (हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रा)’का बारेमा प्रस्तुति दिनुभयो । गाउँ पर्यटन सद्भावना दूत समेत रहनुभएका सिलवालले आफ्नो यात्रासँग जोडिएका तीन पुस्तक ‘एभरेस्ट: एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भव:’ र ‘श्रीलंका स्मृति’ अनि तिनका मुख्य सन्देशबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।
सिलवालले यी तीन पुस्तक र तीन सन्देशसहित सुरु गरेको एचटूओ नेपाल बुक जर्नीमार्फत हिमालयदेखि महासागरसम्म प्रकृति, संस्कृति, शिक्षा र संरक्षणको सन्देश फैलाउने अभियान सञ्चालन गरिरहनुभएको छ । उहाँ देशका विभिन्न जिल्लामा पुग्दै पुस्तकमार्फत ज्ञान, चेतना र सकारात्मक सोचको यात्रा अगाडि बढाइरहनुभएको छ ।
विद्यार्थीहरूलाई प्राकृतिक विज्ञान संग्रहालय तथा उद्यान क्षेत्रको अवलोकन पनि गराइएको थियो, जहाँ उनीहरूले संग्रहालयमा रहेका प्राकृतिक नमुना, वनस्पति तथा जैविक विविधताबारे थप जानकारी लिएका थिए ।
वनस्पति उद्यानलाई शिक्षा, अनुसन्धान र संरक्षणसँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले प्रकृति संरक्षणप्रति नयाँ पुस्तामा जिम्मेवारी र चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । प्राकृतिक विज्ञान संग्रहालयका सहायक प्राध्यापक विमला श्रेष्ठ तथा अन्य विज्ञहरूको पनि सहभागिता रहेको कार्यक्रममा सहभागी टाइम्स इन्टरनेसनल र गीतामाता माध्यामिक विध्यालयका विद्यार्थीहरूले तथा शिक्षकहरूले विज्ञान, प्रकृति, संस्कृति र समाजलाई जोड्ने यस प्रकारका कार्यक्रमले वातावरण संरक्षणको यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
