Fast Nepal News

सर्वोदय ज्येष्ठ नागरिक आश्रम: वैशाख १७ गते अक्षय तृतीयाको अवसरमा आश्रम परिसरमा साप्ताहिक धार्मिक अनुष्ठान आयोजना गरिँदै

banner single news

 

सुबास मजाकोटी

लमजुङ l असहाय र बेसहारा ज्येष्ठ नागरिकहरूको आश्रयस्थलका रूपमा स्थापना भएको लमजुङको सर्वोदय ज्येष्ठ नागरिक आश्रम आज धार्मिक गन्तव्यको रूपमा पनि चम्किन थालेको छ। राईनास नगरपालिका–८ हर्राबोटमा २०६८ सालमा स्थापना गरिएको यस आश्रमले बिस्तारै सामाजिक सेवासँगै आध्यात्मिक ऊर्जा पनि बिस्तार गरेको छ।

२०६७ सालको माघ महिनामा आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल महायज्ञबाट संकलित ८५ लाख रुपैयाँ र करिब ६० रोपनी जग्गाको सहायतामा आश्रम निर्माण गरिएको हो। पछिल्लो समय आश्रमलाई ‘धर्मनाथ धाम’ को रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ।

संस्थापक अध्यक्ष कृष्णराज ओलियाका अनुसार, आश्रम परिसरमा कैलाश पर्वतसहित महादेव, पार्वती, गणेश कुमारका मूर्तिहरू, १०८ गोमुखी धारा, १०८ शिवलिङ्ग र १००८ शालीग्राम स्थापना गरिएको छ। साथै, ज्येष्ठ नागरिक आरोग्य केन्द्र र योग ध्यान साधना केन्द्रसमेत सञ्चालनमा छन्।
आगामी वैशाख १७ गते अक्षय तृतीयाको अवसरमा आश्रम परिसरमा साप्ताहिक धार्मिक अनुष्ठान आयोजना गरिँदैछ। उक्त अनुष्ठानमा देवी–देवताका मूर्तिहरूमा प्राण प्रतिष्ठा, हवन, रुद्रीपाठ, शिवमहापुराण वाचन जस्ता कार्यक्रम हुनेछन्। नेपाल र भारतका ख्यातिप्राप्त आध्यात्मिक गुरुहरूको उपस्थिति रहनेछ भने, भजन, आरतीसहित धार्मिक वातावरणले आश्रम गुञ्जिनेछ। आश्रमले सर्वसाधारणलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

सर्वोदय सेवाश्रमको विकासमा स्थानीय र प्रदेश सरकारको समेत साथ मिलेको छ। राईनास नगरपालिकाले जलबायु अनुकुल परियोजनामार्फत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सो बजेटले मस्र्याङ्दी नदी किनारमा पर्खाल, सिँढी, कम्पाउन्ड पर्खाल र पोखरी निर्माण भइरहेको छ। त्यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा मध्यपहाडी लोकमार्गदेखि आश्रमसम्मको सडक ढलान गरिएको छ।

Inside Article Ads

हाल आश्रममा १८ जना असहाय तथा ज्येष्ठ नागरिकहरू बसोबास गरिरहेका छन्। आश्रम दैनिक सञ्चालन मुठीदान, अन्न, तरकारी तथा नगद सहयोगमा निर्भर रहेको छ। विभिन्न शुभ अवसरहरूमा दाताहरूले खाद्यवस्तु तथा भोजको आयोजना गरेर सहयोग गर्दै आएका छन्।

आश्रमको आफ्नै करेसाबारीबाट ताजा तरकारी र गौशालाबाट दूध उत्पादन हुन्छ। बाँकी दूध र घ्यू बिक्रीबाट थोरै आम्दानी हुने गरेको छ। दीगो सञ्चालनका लागि ४५ लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको छ।

५० जना ज्येष्ठ नागरिक राख्न मिल्ने गरी ८ वटा भवनहरू बनाइएको आश्रममा कार्यालय, भान्सा, सेमिनार हल, पुस्तकालय र पञ्चकर्म थेरापी कक्षहरू छन्। सबै १८ वटै कोठा अपांगमैत्री सुविधासहित निर्माण गरिएका छन्।

सामाजिक सेवा र आध्यात्मिक समर्पणको अनुपम उदाहरण बनेको सर्वोदय सेवाश्रम आज एकैसाथ आस्था र सेवा केन्द्र बन्दै अघि बढिरहेको छ।

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.