
३ भदौ,काठमाडौँ-पछिल्लो एक वर्षमा अघिल्लो वर्षभन्दा करिब १० हजारभन्दा धेरै अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो ।
०७९/८० मा प्रहरीमा ५६ हजार तीन सय १५ अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । जुन ०७८/७९ को तुलनामा २०.०७ प्रतिशतले बढी हो । उक्त वर्ष ४६ हजार नौ सय दुई अपराधका घटना दर्ता भएका थिए ।
अपराध उच्चदरमा वृद्धि हुँदा पनि त्यसको अनुसन्धान गर्ने जनशक्तिको संख्या भने उही छ । अनुसन्धानमा न्यून जनशक्ति हुँदा प्रहरीमाथि अत्यधिक कार्यबोझ बढेको छ । करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीमा दुई हजार तीन सय ९२ जना मात्र अपराध अनुसन्धानमा प्रत्यक्ष आबद्ध छन् । जसअनुसार एकजनाले वर्षमा औसत २३ मुद्दाको अनुसन्धान गर्नुपर्ने हुन्छ । मुद्दाको अत्यधिक चाप हुने जिल्लामा एकै प्रहरीले वर्षमा ५० वटासम्म मुद्दा हेर्नुपर्ने बाध्यता छ ।
आर्थिक र सामाजिक अपराध बढेका छन् : डिआइजी कुवेर कडायत, प्रवक्ता, नेपाल प्रहरी
तथ्यांकमा अपराध धेरै बढेको देखिए पनि गम्भीर किसिमका अपराध बढेका छैनन्, कतिपय त घटेका छन् । आर्थिक र सामाजिक अपराध, खासगरी चेक बाउन्ससँग सम्बन्धित जाहेरी प्रहरीमा बढेका छन् । हत्या, अपहरण, डकैतीजस्ता जघन्य प्रकृतिका अपराध कम नै छन् । बलात्कारका घटना उच्च नै छन् । साइबर अपराधका घटना पनि धेरै छन् । अपराधको संख्या बढेपछि स्वाभाविक रूपमा प्रहरीको कार्यबोझ बढ्छ । अपराध अनुसन्धानमा जनशक्ति बढाउँदै लैजाने प्रहरीको योजना छ ।
अपराध अनुसन्धानमा पर्याप्त जनशक्ति नभएको र वृद्धि गर्ने प्रयास भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । ‘कुल जनशक्तिको १० प्रतिशतलाई अपराध अनुसन्धानमा खटाउने प्रहरीको लक्ष्य छ । हाल चार प्रतिशत मात्र छन्,’ उनले भने, ‘अपराध अनुसन्धानमा छुट्टै समूह बनाउने र उनीहरूलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गर्नेबारे विगतदेखि नै छलफल हुँदै आए पनि प्रगति भने हुन सकेको छैन ।’ जनशक्ति अभाव, अत्यधिक कार्यबोझ र प्रोत्साहनको अभावका कारण अपराध अनुसन्धान प्रभावकारी हुन नसकेको प्रहरी अधिकारी बताउँछन् ।
आर्थिक, लागुऔषध र सामाजिक अपराध उच्च
प्रहरीमा दर्ता भएकामध्ये आर्थिक, सामाजिक र लागुऔषधसम्बन्धी मुद्दा उच्च छन् । पछिल्लो वर्षमा धेरै वृद्धि हुने अपराधमा यी तीन प्रकारकै शीर्ष स्थानमा छन् ।
बैंकिङ कसुरका मुद्दा एक सय ३५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७८/७९ मा प्रहरीमा यससम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएकोमा ०७९/८० मा १२ हजार एक सय ३५ मुद्दा दर्ता भए । आर्थिक अपराधसँगै बैंकिङ कसुरका मुद्दा बढेको प्रहरीको विश्लेषण छ । मिटरब्याजदेखि सहकारी ठगीसम्मका विषय चेक बाउन्ससँग जोडिने भएकाले पनि बैंकिङ कसुरका मुद्दा ह्वात्तै बढेको छ ।
सामाजिक अपराधसम्बन्धी मुद्दा पनि एक वर्षमा ११ हजार नौ सय ८२ थान दर्ता भएका छन् । अघिल्लो वर्ष ०७८/७९ मा यस्तो संख्या नौ हजार नौ सय ८४ पुगेका थियो । सामाजिक अपराधमा १० हजार पाँच सय नौ मुद्दा त सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर छ । सामान्य झैझगडादेखि अन्य कुनै पनि अपराध आकर्षित नहुने अवस्थामा पनि यस्तो कसुरमा प्रहरीले मुद्दा चलाउने गरेको छ ।
लागुऔषधका मुद्दा पनि बढेको छ । ०७८/७९ मा तीन हजार आठ सय ५६ घटना रहेकामा ०७९/८० मा चार हजार एक सय दुई पुगेको छ । प्रहरी प्रवक्ता कडायत मुद्दाको संख्या धेरै बढे पनि गम्भीर प्रकृतिका मुद्दा भने धेरै नबढेको बताउँछन् । आर्थिक तथा सामाजिक अपराधका घटना भने बढेको उनको भनाइ छ ।
हत्या र जुवाका घटनामा कमी
हत्याका घटनामा भने केही कमी आएको छ । ०७९/८० मा पाँच सय एकजनाको हत्या भएकोमा अघिल्लो वर्ष पाँच सय ९० को हत्या भएको थियो । ज्यान मार्ने उद्योगको मुद्दा पनि एक हजार ६९ बाट घटेर नौ सय ८२ मात्र भएका छन् ।
जुवा तथा सट्टेबाजीका अपराध केही घटेका छन् । अघिल्लो वर्ष चार सय ३० घटना प्रहरीमा दर्ता भएकोमा पछिल्लो वर्ष तीन सय ४२ मात्र छन् । हातहतियार खरखजनासम्बन्धी मुद्दा दुई सय सातबाट घटेर एक सय ७७ मात्र दर्ता भएका छन् ।
दैनिक १९ जनाले गर्छन् आत्महत्या
आत्महत्याका घटना केही बढेका छन् । ०७९/८० मा ६ हजार नौ सय ७१ जनाले आत्महत्या गरेका छन् । अघिल्लो वर्ष यो तथ्यांक ६ हजार सात सय ९२ थियो । जसअनुसार औसतमा दैनिक नेपालमा १९ जनाले आत्महत्या गर्छन् । आमहत्या उच्च हुने देशमा नेपाल अग्रस्थानमा रहँदै आएको छ ।
चोरीका घटना बढेका छन् । ०७८/७९ मा तीन हजार एक सय ८८ चोरी तथा डकैती भएकोमा ०७९/८० मा तीन हजार ६ सय १९ घटना भएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखनसम्बन्धी अपराध एक सय ३६ बाट एक सय ५० पुगेको छ । यस्ता अपराध हजारौँ भए पनि प्रहरीमा थोरै मात्र उजुरी आउने गरेको छ । यस्ता कतिपय उजुरीमा वैदेशिक रोजगार ठगीअन्तर्गत समेत मुद्दा चल्ने गरेको छ ।
बलात्कारसम्बन्धी घटनाको अवस्था लगभग उस्तै छ । जबर्जस्ती करणीका घटना ०७८/७९ मा दुई हजार तीन सय ८० रहेकामा ०७९/८० मा दुई हजार तीन सय ८७ दर्ता भएका छन् । त्यस्तै, जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा भने घटेका छन् । ०७८/७९ मा ६ सय ८८ दर्ता भएकोमा ०७९/८० मा पाँच सय १८ दर्ता भएका छन् ।
महिला हिंसाका उजुरी पनि उच्च छन् । एक वर्षमा १६ हजार पाँच सय १९ उजुरी दर्ता भएका छन् । महिला हिंसाका घटनामा थोरै मात्र अदालत जाने गरेको छ । बालयौन दुराचारका घटना भने बढेका छन् । अघिल्लो वर्ष तीन सय १४ रहेकोमा ०७९/८० मा तीन सय ४३ पुगेको छ । आपराधिक विश्वासघातका मुद्दा पनि बढेका छन् । ०७८/७९ मा सात सय ३९ वटा रहेकोमा ०७९/८० मा एक हजार एक सय पाँच पुगेको छ ।
एक वर्षमा ११ हजार फरार समातिए
एक वर्षको अवधिमा प्रहरीले ११ हजार नौ सय दुईजना फरार अपराधीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भइसकेकालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । फरारहरूबाट चार हजार आठ सय ६६ वर्ष एक महिना २८ दिन कैद र ९९ करोड ३८ लाख २९ हजार जरिवाना असुल भएको छ । त्यस्तै, ट्राफिक कारबाहीबाट मात्र प्रहरीले एक अर्ब ९५ करोड २६ लाख राजस्व संकलन गरेको छ । एक वर्षमा २५ लाख ३८ हजार चालक कारबाहीमा परेका छन् ।
साइबर अपराधका ६ हजार उजुरी
एक वर्षमा साइबर अपराधसम्बन्धी करिब ६ हजार उजुरी प्रहरीमा दर्ता भएका छन् । साइबर ब्युरोका अनुसार पाँच हजार नौ सय पाँच उजुरी दर्ता भएका छन् । यद्यपि, साइबर अपराधसम्बन्धी मुद्दा अदालतमा भने एक सय ३३ वटा मात्र दर्ता भएका छन् । धेरै घटना प्रहरीमा पेन्डिङमा छन् ।
उजुरी अत्यधिक आउने र जनशक्ति तथा स्रोत–साधन न्यून भएकाले साइबर अपराधको अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको साइबर ब्युरोका एसपी पशुपति रायले बताए । धेरैजसो उजुरी सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएको, सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको तथा ठगी गरेकोलगायत हुने गरेका छन् ।
समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

तथ्यांकमा अपराध धेरै बढेको देखिए पनि गम्भीर किसिमका अपराध बढेका छैनन्, कतिपय त घटेका छन् । आर्थिक र सामाजिक अपराध, खासगरी चेक बाउन्ससँग सम्बन्धित जाहेरी प्रहरीमा बढेका छन् । हत्या, अपहरण, डकैतीजस्ता जघन्य प्रकृतिका अपराध कम नै छन् । बलात्कारका घटना उच्च नै छन् । साइबर अपराधका घटना पनि धेरै छन् । अपराधको संख्या बढेपछि स्वाभाविक रूपमा प्रहरीको कार्यबोझ बढ्छ । अपराध अनुसन्धानमा जनशक्ति बढाउँदै लैजाने प्रहरीको योजना छ ।