
३२ श्रावण,काठमाडौँ- महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गर्नुभएको थियो।
कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ। लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत बताउनुभयो।
प्रधानमन्त्रीले भन्नुभयो, “हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण शर्त हो। तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ। इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नैपर्छ।
विश्वासनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ।”“राज्यका अंगहरू जिम्मेवार नभइकन सुशासन, पारदर्शिता र जवाफदेहितामा अपेक्षित प्रगति हासिल गर्न सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूले जसरी यो वर्ष विगतभन्दा प्रभावकारी लेखापरीक्षणको योजना बनाउनुभएको छ, त्यसमा सफलता मिल्नेछ भन्ने मेरो विश्वास छ।”
Visited 98 times, 1 visit(s) today
