
१० श्रावण,काठमाडौं :- टोखा नगरपालिका-९, गोंगबुमा मुख्य कार्यालय रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक संकटको बीचमा पनि लोभलाग्दो प्रगती गर्न सफल भएको छ । स्थापनाको छोटो समयमै सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफूलाई अब्बल सावित गराएको छ ।
टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७८ साल भदौ ४ गते स्थापना भएको सेञ्चुरीमा ८ सय ५० जना आवद्ध भएका छन् । समुदायमा आधारित भई सञ्चालमा रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारीको सेयर पुँजी १ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको नियमित बचतमा १ करोड ५ लाख, आवधिक बचतमा २ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थाले २ सय ५० जनालाई ४ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । संस्थाले स्थापनाको पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
संस्थाले प्रदान गर्ने सेवाका कारण सदस्यहरुको विश्वास संस्थाप्रति बढ्दै गएको संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ‘आर्थिक मन्दीको बीचमा पनि संस्थामा सेयर, नियमितम बचत र आवधिक बचतमा कुनै कमी आएको छैन । सदस्यहरुले कर्जा पनि समयमै चुक्ता गरिराख्नु भएको छ । संस्थाको खराब कर्जा शून्य प्रतिशत छ’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले सदस्यलाई पूर्ण रुपमा विश्वास गरेका छौं र सदस्यहरुले पनि संस्थाप्रति विश्वास जनाउनु भएको छ । त्यसैको प्रतिफलको रुपमा यो उपलब्धीलाई लिएका छौं ।’ सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने समेत अध्यक्ष श्रेष्ठको भनाई छ । ‘हामी सदस्यहरुलाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ केन्द्रीत छौं । सहकारीप्रति घढ्नो जनविश्वासलाई फर्काउने गरी काम गरिरहेका छौं’, अध्यक्ष श्रेष्ठले भने ।
संस्थाका अध्यक्ष लगायत सञ्चालक समितिले संस्थाबाट कुनै पनि सेवा सुविधा समेत लिने नगरेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठ पेशाले सिभिल इन्जिनियर हुन् । उनी विभिन्न संघ/संस्थाको सफल नेतृत्व समेत गर्दै आएका छन् । सामाजिक अभियान्तका रुपमा परिचित श्रेष्ठ पछिल्लो समय सहकारीकर्ममा जोडिएको छन् ।
