
२४ असार,काठमाडौँ-गत शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्को पूर्वसूचना प्रणाली कमजोर रहेको भन्दै असन्तुष्टि जनाए ।
पूर्वसूचना तथा जाकारीसहति आवश्यक पर्ने पूर्वतयारीका उपायहरुभन्दा पनि विपदपछिको उद्धार, राहत तथा पुनः स्थापनामा मात्रै ध्यान केन्द्रित हुने गरेको भन्दै प्रधानमन्त्री दाहालको असन्तुष्ट थियो ।

विपद्को पूर्वानुमान र त्यससम्बन्धी आवश्यक गृहकार्यबारे गम्भीर नभएर पुरानै शैलीअनुसार प्रतिकार्यमा मात्रै केन्द्रित भएको उनको भनाइ थियो ।
विपद् आउने समयमा मात्रै यस किसिमका छलफल तथा विषयमा चर्चा हुने तर प्रभावित भएको स्थानहरुमा विपद्को प्रभाव, राज्य र नागरिकको सहकार्यबाट यसबाट बच्नसक्ने उपायहरुबारे पर्याप्त अन्तरक्रिया नगरेको भन्दै उनले प्रश्न उठाएका थिए । विपद्जस्तो संवेदनशील विषयलाई झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर सास्ती दिने काम किन भएको भन्दै दाहालले प्रश्न गरेका थिए ।

साथै उनले विपद्को समयमा जनताको जीवन रक्षामा संवेदनशील भएर काम गर्न भन्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिए ।
पूर्वतयारी र पूर्वसूचनामा ध्यान नदिँदा मनसुनसँगै सुरु भएको बाढी, पहिरो, अत्यधिक वर्षालगायतका मनसुनी विपद्का कारण मुलुकभर १० अर्बभन्दा बढीको क्षति भएको छ । जेठ ३१ यता भएको मनसुनजन्य विपद्का घटनाबाट हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।
यसबीचमा मनसुनजन्य विपद्बाट प्रभावित ६४ जिल्लामा २५ जना बेपत्ता र ३५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए । मनसुनजन्य घटनाबाट ५४ घर पूर्ण रुपमा र २० घर आंशिक रुपमा क्षतिग्रस्त भए ।

यस्तै २६४ वटा पशु चौपायाको क्षतिसहित ६ करोड १६ लाखको नोक्सानी भएको प्राधिकरणले जनाएको छ । खेतीयोग्य जमिन र बालीनालीमा भएको क्षतिको विवरण सरकारले निकालेको छैन । साथै, विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको प्राधिकरणले जनाएको छ । ताप्लेजुङ र पाँचथरमा ११/११ गरी २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजारको रुपैयाँको क्षति भएको गृह मन्त्रालयको तथ्यांकमा छ ।
निर्माणाधीन ठूला जलवविद्युत आयोजनहरुमध्ये ३२६.८६ मेगावाट क्षमताका १७ वटा आयोजनामा २ अर्ब ६२ करोड र सञ्चालनमा रहेका १३२.७४ मेगावाट क्षमताका १३ वटा आयोजनामा ५ अर्ब ९२ करोड बराबरको क्षति भएको प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले बैठकमा प्रस्तुत गरेको विवरणमा छ । यस्तै, ३१ वटा लघु जलविद्युत आयोजनाहरुमा ४४ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसरी जलविद्युत आयोजनाहरुमा भएको क्षति ९ अर्ब पुगेको छ ।
प्रधानमन्त्रीले भने पूर्वतयारी र पूर्वसूचनाको क्षेत्रमा चासो कम हुँदा अर्बौंको क्षति हुने गरेको छ । शुक्रबारसम्म संघीय सरकारले २० लाख रुपैयाँ राहत तथा उद्धारमा खर्च गरेको जनाएको छ । यस्तै, २ हजारवटा त्रिपाल, ३४ वटा टेन्ट र १५० वटा ब्ल्यांकेट प्रभावित क्षेत्रमा पठाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल विगतको तुलानामा विपद् प्रतिकार्य योजना चुस्त रहेको बताए पनि अचानक हुने वर्षा र पहिरोका घटना सम्बन्धमा तयारी अझै नपुगेको उनले बताए । ‘राहत तथा प्रतिकार्यका लागि टिम र बजेट पर्याप्त छ तर कुन ठाउँमा कुन बेला पहिरो जान्छ त्यस सम्बन्धीको जानकारी कम छ,’ उनले भने ।
दुई वर्षअघि सिन्धुपाल्चोकको हेलम्बुमा बगाएको बेलिब्रिज पुल जडानका लागि ६ महिनासम्म लाग्दा यस वर्ष हेवाखोलामा बाढीले बगाएको पुलको वैकल्पिक बेलिब्रिज बनाउन समयमै टोली पठाइए पनि हालसम्म निर्माण कार्य सम्पन्न भएको छैन ।
‘औषधि उपचारका लागि पनि सबै कुरा तयारी छ । पोहोर सालभन्दा कम वर्षा हुने भनिएको छ कुनै ठाउँमा हुने एक्कासी वर्षाले पार्ने जोखिम धेरै नै छ,’ कार्यकारी निर्देशक पोखरेलले कान्तिपुरसित भने । यस्तै हाल समस्या पहिरोको भएकाले चुनौती थपिएको उनले बताए । ‘हामीलाई समस्या भनेको पहिरोको चुनौती छ, पहिरोमा अनिश्चितता छ तर तयारी अवस्थामा रहनै पर्छ,’ पोखरेलले भने ।
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
