Fast Nepal News

मनसुन सुरू भएपछि २३ दिनमा १० अर्बभन्दा बढीको क्षति

पूर्वसूचना प्रणालीमा ध्यान नदिएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि जेठ ३१ यता भएको मनसुनजन्य विपद्का घटनाबाट ३४ जनाको मृत्यु, १० अर्ब रूपैयाँभन्दा बढीको क्षति

banner single news

२४ असार,काठमाडौँ-गत शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्को पूर्वसूचना प्रणाली कमजोर रहेको भन्दै असन्तुष्टि जनाए ।

पूर्वसूचना तथा जाकारीसहति आवश्यक पर्ने पूर्वतयारीका उपायहरुभन्दा पनि विपदपछिको उद्धार, राहत तथा पुनः स्थापनामा मात्रै ध्यान केन्द्रित हुने गरेको भन्दै प्रधानमन्त्री दाहालको असन्तुष्ट थियो ।

विपद्को पूर्वानुमान र त्यससम्बन्धी आवश्यक गृहकार्यबारे गम्भीर नभएर पुरानै शैलीअनुसार प्रतिकार्यमा मात्रै केन्द्रित भएको उनको भनाइ थियो ।

विपद् आउने समयमा मात्रै यस किसिमका छलफल तथा विषयमा चर्चा हुने तर प्रभावित भएको स्थानहरुमा विपद्को प्रभाव, राज्य र नागरिकको सहकार्यबाट यसबाट बच्नसक्ने उपायहरुबारे पर्याप्त अन्तरक्रिया नगरेको भन्दै उनले प्रश्न उठाएका थिए । विपद्जस्तो संवेदनशील विषयलाई झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर सास्ती दिने काम किन भएको भन्दै दाहालले प्रश्न गरेका थिए ।

साथै उनले विपद्को समयमा जनताको जीवन रक्षामा संवेदनशील भएर काम गर्न भन्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिए ।

पूर्वतयारी र पूर्वसूचनामा ध्यान नदिँदा मनसुनसँगै सुरु भएको बाढी, पहिरो, अत्यधिक वर्षालगायतका मनसुनी विपद्का कारण मुलुकभर १० अर्बभन्दा बढीको क्षति भएको छ । जेठ ३१ यता भएको मनसुनजन्य विपद्का घटनाबाट हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।

यसबीचमा मनसुनजन्य विपद्बाट प्रभावित ६४ जिल्लामा २५ जना बेपत्ता र ३५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए । मनसुनजन्य घटनाबाट ५४ घर पूर्ण रुपमा र २० घर आंशिक रुपमा क्षतिग्रस्त भए ।

Inside Article Ads

यस्तै २६४ वटा पशु चौपायाको क्षतिसहित ६ करोड १६ लाखको नोक्सानी भएको प्राधिकरणले जनाएको छ । खेतीयोग्य जमिन र बालीनालीमा भएको क्षतिको विवरण सरकारले निकालेको छैन । साथै, विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको प्राधिकरणले जनाएको छ । ताप्लेजुङ र पाँचथरमा ११/११ गरी २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजारको रुपैयाँको क्षति भएको गृह मन्त्रालयको तथ्यांकमा छ ।

निर्माणाधीन ठूला जलवविद्युत आयोजनहरुमध्ये ३२६.८६ मेगावाट क्षमताका १७ वटा आयोजनामा २ अर्ब ६२ करोड र सञ्चालनमा रहेका १३२.७४ मेगावाट क्षमताका १३ वटा आयोजनामा ५ अर्ब ९२ करोड बराबरको क्षति भएको प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले बैठकमा प्रस्तुत गरेको विवरणमा छ । यस्तै, ३१ वटा लघु जलविद्युत आयोजनाहरुमा ४४ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसरी जलविद्युत आयोजनाहरुमा भएको क्षति ९ अर्ब पुगेको छ ।

प्रधानमन्त्रीले भने पूर्वतयारी र पूर्वसूचनाको क्षेत्रमा चासो कम हुँदा अर्बौंको क्षति हुने गरेको छ । शुक्रबारसम्म संघीय सरकारले २० लाख रुपैयाँ राहत तथा उद्धारमा खर्च गरेको जनाएको छ । यस्तै, २ हजारवटा त्रिपाल, ३४ वटा टेन्ट र १५० वटा ब्ल्यांकेट प्रभावित क्षेत्रमा पठाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल विगतको तुलानामा विपद् प्रतिकार्य योजना चुस्त रहेको बताए पनि अचानक हुने वर्षा र पहिरोका घटना सम्बन्धमा तयारी अझै नपुगेको उनले बताए । ‘राहत तथा प्रतिकार्यका लागि टिम र बजेट पर्याप्त छ तर कुन ठाउँमा कुन बेला पहिरो जान्छ त्यस सम्बन्धीको जानकारी कम छ,’ उनले भने ।

दुई वर्षअघि सिन्धुपाल्चोकको हेलम्बुमा बगाएको बेलिब्रिज पुल जडानका लागि ६ महिनासम्म लाग्दा यस वर्ष हेवाखोलामा बाढीले बगाएको पुलको वैकल्पिक बेलिब्रिज बनाउन समयमै टोली पठाइए पनि हालसम्म निर्माण कार्य सम्पन्न भएको छैन ।

‘औषधि उपचारका लागि पनि सबै कुरा तयारी छ । पोहोर सालभन्दा कम वर्षा हुने भनिएको छ कुनै ठाउँमा हुने एक्कासी वर्षाले पार्ने जोखिम धेरै नै छ,’ कार्यकारी निर्देशक पोखरेलले कान्तिपुरसित भने । यस्तै हाल समस्या पहिरोको भएकाले चुनौती थपिएको उनले बताए । ‘हामीलाई समस्या भनेको पहिरोको चुनौती छ, पहिरोमा अनिश्चितता छ तर तयारी अवस्थामा रहनै पर्छ,’ पोखरेलले भने ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.