Fast Nepal News

अझै बढ्नसक्छ गर्मी

मनसुनी वर्षा ढिला हुने तराईमा तातो हावा र लूको प्रभाव, स्वास्थ्य सावधानी अपनाउन आग्रह धेरै गर्मी हुँदा थकाइ लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने र वान्ता आउनसक्ने

banner single news

२१  जेठ,काठमाडौँ – केही दिनयता मुलुकका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । मधेश प्रदेशका धेरै स्थानहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० डिग्री सेल्सियस तापक्रम नाघेको छ ।

जेठ १६ गते रौतहटको गौरमा ४१.३ डिग्री पुग्दा १७ र १८ गते बढेर अधिकतम तापक्रम क्रमशः ४२.३ र ४३.३ डिग्री सेल्सियस पुगेको थियो । शुक्रबार नवलपुरको दुम्कौलीमा ४३ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्य पहाडी क्षेत्रमा पनि तापक्रमले थ्रेसहोल्ड नाघेको छ । शुक्रबारको तथ्यांक अनुसार देशभरका २४८ वटा वर्षा मापन केन्द्रमध्ये १५ वटामा मात्रै वर्षा भएको पाइएको थियो । यस्तै, ३३ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भैरहावादेखि पूर्व सप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । यस्तै, पूर्व तराई र पश्चिमी तराईमा ३५ डिग्री सेल्सियस तापक्रम नाघेको झाले जानकारी दिए । शनिबार लुम्बनी र सुदूरपश्चिमका पहाडी भू–भागमा तापक्रम ३८ डिग्रीसम्म मापन गरिएको छ । यस्तै, सुर्खेत,दाङ, धरानलगायत पहाडी खोंच/उपत्यकामा भएका सहरहरुमा तापक्रम ३५ नाघेको मौसमविद् झाले जानकारी दिए । ‘अबको दुई दिनसम्म तापक्रम बढ्ने देखिन्छ,’ उनले भने ।

बर्दियाको चिसापनी केन्द्र, वीरगन्ज, विराटनगर, धरानबजारमा न्यूनतम तापक्रम २५ देखि २८ डिग्रीसम्म मापन गरिएको छ । तापक्रमसँगै गर्मी बढ्दा देशका विभिन्न स्थानहरुमा विद्यालय बिदा दिइएको छ ।

मौसम पूर्वानुमन महाशाखाकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले मे, जुन र जुलाई महिनामा तापक्रम केही बढ्ने र गर्मी हुने बताइन् । ‘नेपालको भौगोलिक अवस्थितीले गर्दा यी महिनामा धेरै गर्मी हुने गर्छ,’ कँडेलले भनिन्,‘ वर्षा गराउने प्रणाली कम हुँदा तापक्रम बढेको हो ।’

नेपालमा अझै केही दिनसम्म पानी नपर्ने भएकाले तापक्रम थप बढ्नसक्ने उनले बताइन् । विभागले तापक्रमलाई आधार मानेर तातो, धेरै तातो र अति तातो भनेर वर्गीकरण गरेको छ । कुनै स्थानमा तीन दिनसम्म तातो दिन भए ती स्थानमा तातो हावा(हिट वेभ)को लहर चल्ने उनले बताइन् । विभागले यसका लागि छुट्टाछुट्टै मापन केन्द्रहरुमा तापक्रमको आधारमा पर्सेन्टाइल भ्यालुहरु राखेको छ । त्यसैको आधारमा तातो हावाको बारेमा पूर्वानुमान गर्ने गर्छ । ‘कुनै एउटा मापन केन्द्रमा तीन दिनसम्म तातो दिनको थ्रेसहोल्ड काट्यो भने हामीले तातो हावा चल्यो भन्छौं,’ कँडेलले कान्तिपुरसित भनिन् ।

पहाडी ठाउँमा ३० डिग्री नाघ्दा धेरैलाई गाह्रो हुन्छ भने मधेसमा सामान्य लिने गरिन्छ । मधेसमा तापक्रम ३५ नाघेपछि धेरै तातो मानिने गरिएको छ । यस्तै, कुनै ठाउँमा तापक्रम ४० डिग्री कट्दा अति तातो भनेर भनिएको छ । यस्तो अवस्थमा मानिसहरु बिरामी हुने सम्भावना हुने कँडेलले बताइन् ।

सूर्यको किरणसँग आउने तापले जमिन धेरै तताउने तर वर्षा नहुँदा जमिन तातिरहेको उनले बताए । मौसमविद् झा भन्छन्,‘अहिले मौसम सफा छ । बदली पनि छैन, वर्षा पनि छैन, कुनै मौसमी प्रणाली नै सक्रिय छैन त्यसो हुँदा जमिन तातिरहन्छ । जमिन चिसिन नपाई तातो भएपछि गर्मी बढको हो । ’

मनसुन केही दिन ढिला हुनसक्ने

Inside Article Ads

मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानेको छ । गत वर्ष एक साताअघि नेपालमा मनसुन भित्रिएको थियो । यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको मौसमविद् झा बताउँछन् । ‘अहिलेको प्रणाली हेर्दा मनसुनी वर्षा सुरु हुन्छ भन्ने अवस्था छैन,’ झाले भने, ‘अरु बेला भारतको केरलामा जुन १ मा मनसुन सुरु भइसक्थ्यो । त्यहाँ अझै प्रणाली विकसित भइसकेको छैन । त्यसैले समयमा नै मनसुनी वर्षा हुने सम्भावना न्यून छ ।’

स्वास्थ्यमा असर

महाशाखाकी वरिष्ठ मौसिमविद् कँडेल भन्छिन्, ‘तापक्रम ४० डिग्री नाघ्नु भनेको धेरै हो । यो थ्रेसहोल्ड नाघ्यो भने मानिसलाई धेरै ने असर गर्छ । ’ कुनै स्थानमा बसोबास गर्ने मानिसहरुलाई औसतभन्दा बढी तापक्रम हुँदा त्यसले पार्ने असर फरक हुने उनले बताइन् ।

‘काठमाडौंमा तापक्रम ३१ देखि ३२ डिग्री सेल्सियस भयो भने त्यो धेरै नै हो । विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ,’ कँडेलले कान्तिपुरसित भनिन्, ‘तराईमा बसोबास गर्ने मानिसहरुका लागि त्यो तापक्रम सामान्य हुन सक्छ । ’

यसैबीच मौसम पूर्वानुमान महाशाखाले तापक्रम बढ्दै जाँदा शरीरलाई समेत असर गर्ने जनाउँदै स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरेको छ । धेरै गर्मी हुँदा स्वास्थ्य असहज हुनुका साथै थकाइ लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,चक्कर आउने, बेहोस हुने वान्ता आउनसक्ने विभागले जनाएको छ । विभागले एक बुलेटिन निकाल्दै तातो हावा तथा लूबाट बच्नका लागि घरभित्र वा चिसो स्थानमा रहन आग्रह गरेको ।

यस्तै, बाहिरी वातावरणमा नजान साथै हल्का सुतीको कपडा लगाएर, टाउको छोपेर वा टोपी लगाएर बाहिर निस्कन आग्रह गरिएको छ । यस्तै, पानी, सर्वत लगायतका झोलिलो पदार्थ प्रसस्त पिउनुपर्ने विभागले सुझाव दिएको छ ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.