
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृ शान्ता बास्कोटाले खस आर्य महिला कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
यसअघि काठमाडौंमा आयोजित विशेष समारोहमा उम्मेदवारी घोषणा गरेकी बास्कोटाले अहिले औपचारिक रूपमा मनोनयन दर्ता गरेकी हुन्।
उम्मेदवारी घोषणा गर्दै बास्कोटाले आफूले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको विचारको रक्षा, त्यसको सिर्जनशील व्याख्या र पार्टी रूपान्तरणका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी थिइन्।
बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसको संगठनलाई थप बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले पार्टीलाई तल्लो तहदेखि दूरदराजमा रहेका जनतासम्म जोड्नुपर्नेमा जोड दिएकी थिइन्।
कांग्रेसलाई नयाँ पुस्ताको भावना र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढाउन संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा पार्टीभित्र सिर्जनशील भूमिकालाई प्राथमिकता दिने बास्कोटाको भनाइ छ।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ र सहयोगको अपेक्षा गर्दै भनेकी थिइन्, “यहाँहरूको झन् ठूलो साथ र सहयोगको आशा गरेको छु।”
अब खस आर्य महिला कोटाबाट केन्द्रीय सदस्य पदमा उनको उम्मेदवारी औपचारिक रूपमा दर्ता भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा उनको उम्मेदवारी निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ।
