
चितवन- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाई विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्रदान गरेकाे छ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये पहिलो रहेको दाबी गरेको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता प्राप्त गर्न सफल भएकाे वताए ।
प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ। न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएकाे मान्यता भन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए।
उक्त मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ। देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो। उहाँका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव रहेकाे दावी गर्नुभयो ।
विशिष्ट श्रेणीको परीक्षण हुन नसकेर नमूना विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए। उनले भने, “प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो। प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ।”
अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए। उनले भने, “राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छाैँ।” अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उहाँको भनाइ छ। देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ। source cmc
