
३१ असोज, काठमाडौं । फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएको छ ।
फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो ।त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको आयोगका अधिकारीहरुले बताएका छन् ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताए । ‘निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको हो’, थपलियाले भने, ‘हाम्रो प्रस्तावमा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ उनले बताए । आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ । त्यसैगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न पनि फेसबुकका प्रतिनिधिहरु सकारात्मक भएको आयोगका अधिकारीहरु बताउँछन् ।
