Fast Nepal News

लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य: अध्यक्ष यादव

banner single news

धनुषा – २६ भदौ २०७९

धनुषा, जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउनुभएको छ । जनकपुरधाममा आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराउनुभयो । अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पार्नुभयो । मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै अध्यक्ष यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने धारणासमेत राख्नुभयो । उहाँले सामाजिक विकृतिका रुपमा रहेका पिछडावर्ग माथिको अन्याय अन्तका लागि संवैधानिकरुपमै पहल गर्नुपर्ने उल्लेख गर्नुहुँदै दलित र पिछडा वर्गको उन्नतिविना देशको समृद्धि कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।

Inside Article Ads

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठूलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नुहुँदै उनीहरुको सामाजिक उत्थानका लागि प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको बताउनुभयो । उहाँले पिछडा वर्गको सूचीकरणलगायत कामका लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै ऐन बनाउन नसकिए पनि अध्यादेशबाटै समिति बनाउने प्रक्रियामा रहेको बताउनुभयो । पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता बलराम महतोलगायतले सम्बोधन गर्नुभएको थियो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.